INSEC Online

📅 २०८३ जेष्ठ २१

२३ वटा सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदा सेवाग्राही मर्कामा

करिब एक महिनादेखि हुम्लाका २३ वटा सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

उपचारका लागि स्वास्थ्य संस्थामा जाँदा कार्यालय बन्द भएपछि फर्किनु परेको खार्पुनाथ गाउँपालिका–५, ताक्ला गाउँकी सुपुरी नेपालीले गुनासो गर्नुभयो ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले कर्णाली सरकारले गाउँपालिकाका ६ वटा सामुदायिक आधारभूत स्वास्थ्य इकाइ बन्द गर्ने अवस्था बनाएर नागरिकको अधिकार खोसेको टिप्पणी गर्नुभयो ।

‘आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म प्रदेश सरकारले बजेटको व्यवस्था गर्दा इकाइहरू सञ्चालन भए तर यो वर्ष बजेटको व्यवस्था नगर्दा बन्द गर्नु परेर बिरामीलाई उपचारमा दुःख भएको छ’ अध्यक्ष रावलले भन्नुभयो ।

त्यस्तै यो वर्ष कार्यक्रम नै नआएपछि चारवटा इकाइ बन्द गर्नुपरेको सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनु भयो ।

स्थानीय सेवाग्राही र जनप्रतिनिधि बन्द भएका इकाइलाई पुनः सञ्चालनमा ल्याउनका लागि साउन ९ गते गाउँपालिकामा ध्यानाकर्षण गराउन आएको बताउनु भयो ।

नाम्खा गाउँपालिकामा पनि चारवटा इकाइहरू बन्द रहेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको भनाइ छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार सातवटै गाउँपालिकाका २३ वटा इकाइ बन्द रहेकोले सेवाग्राहीलाई समस्या भएको छ ।

उहाँका अनुसार प्रत्येक स्वास्थ्य इकाइमा एक जना अहेब, एक जना अनमी र एक जना कार्यालय सहयोगि कार्यरत छन् ।

अन्य

भिडियो