भ्रेमाथाङ पहिरोबाट ०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्याएको ४७ दिनपछि अर्थात ०७८ साउन १६ गते राती फेरी बाढी आएर हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको २० ओटा घर बगाएको छ भने करौडौँ मूल्यको खेति योग्य जमीन नदीको कटानले नष्ट गरायो ।
असार १ गतेको बाढीपछि बिस्तारै सामान्य तर्फ लाग्न लागेका हेलम्बु र मेलम्चीका बाढी प्रभावित साउन १६ पछि पुनः विस्थापित भएका छन् ।
हेलम्बु गाउपालिका–१ का आशा लामा भन्नुहुन्छ—‘बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ याहाँ पनि जोखिम बढ्यो अब कहाँ बस्ने ?’ उहाँ जस्तै हेलम्बु गाउँपालिकामा मात्रै ९० परिवारको घर असार १ गतेको बाढी–पहिरोले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकोमा आश्रय लिएर बसेका छन् । हेलम्बु कै सरस्वती मगर घाम र पानीमा पालमुनी जीवन गुर्जान गाह्रो भएको बताउनु हुन्छ ।
मेलम्ची नगरवासीको पनि समस्या उस्तै छ । असार १ गतेको बाढी प्रभावितहरू मध्य केहीले आफ्ना घर पसल सफा गरी आफ्नै बासस्थानमा सरिसकेका थिए । साउन १६ गतेको बाढीपछि उनिहरू फेरी सुरक्षित स्थानतर्फ लागेका छन् ।
साउन १६ गते रातीदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पक्की र कच्ची गरी २० घर बगाएको छ भने तीन ओटा घर डुवेका छन् ।
अघिल्लो बाढीमा डुुवानमा परेको रेडियो मेलम्चीको भवन यसपल्टको बाढीले बगाएको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले बताउनु भयो । भारतीका अनुसार ‘बाढीले चनौटे बजार नजिक रहेको रातो पुल पनि बगाएको छ ।
मेलम्ची नगरपालिकाको वडा नं. ७ र ८, पाँचपोखरी थाम्पाल गाउँपालिकाको वडा नं. १ र २ र हेलम्बु गाउँपालिकाको धेरैवडा जोड्ने एक मात्र विकल्पको रूपमा यो पुल रहेको थियो । रातो पुल बगाएसँगै यो भेगमा सवारी आवत जावत बन्द भएको छ ।’
बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा घर बगाएको छ भने मेलम्ची बजारदेखि माथि कुनै पुल बाकी नरहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्यालजेन लमाले बताउनु भयो ।
‘लेदो भ्रेमाथाङबाट बग्ने क्रम जारी भएकाले मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प छैन’ अध्यक्ष लामाको भनाइ छ ।