INSEC Online

📅 २०८३ जेष्ठ २१

कोटा प्रणाली खारेज गर्न माग गर्दै बिरामीद्वारा विरोध

कोशी अस्पताल विराटनगरमा एक्सरे विभागमा कार्यरत दुई जना चिकित्सकले राजीनामा दिएपछि अस्पताल प्रशासनले सेवा प्रवाहका लागि कोटा प्रणाली अपनाएपछि सेवाग्राहीले त्यसको विरोध गरेका छन् । साउन १८ गतेदेखि लागू हुने गरी अस्पतालले दैनिक २० जना बिरामीले मात्र एक्सरे विभागको सेवा पाउने गरी कोटा निर्धारण गरेपछि सेवा लिनका लागि लाममा बसेका सेवाग्राहीले साउन १८ गते अस्पताल प्रशासनविरूद्ध नाराबाजी गरी विरोध गरेका छन् ।

अस्पतालमा करारमा नियुक्त डाक्टर पुष्कर देव र डाक्टर सितेश कोइरालाले साउन १८ गतेदेखि लागू हुने गरी व्यक्तिगत कारण देखाएर राजीनामा दिएपछि समस्या भएको कोशी अस्पतालका मेडिकल सुपरीडेन्डेण्ट डाक्टर चुमनलाल दासले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । करारमा मै नियुक्तिका लागि अस्पताल प्रशासनले आवश्यकता सम्बन्धी सूचना प्रकाशन गरेपनि कसैले आवेदन नदिदाँ समस्या भएको डाक्टर चुमनलाल दासले बताउनु भएको छ । उहाँले साउन १८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक उपलब्ध गराउन जानकारी गराएको बताउनु भयो ।

साउन १८ गते विराटनगर महानगरपालिका–५ का सेवाग्राही मोहम्मद हुसेनले भिडियो ए–क्सरेको बिल काटिसक्दा पनि ल्याबमा परीक्षण गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले स्वास्थ्य उपचार पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार भएपनि चिकित्सक अभावमा कोशी अस्पताल आएका बिरामीलाई उपचारबाट वञ्चित गराउन खोजिएको आरोप लगाउनु भयो । साउन १८ गते सेवा लिनका लागि लाममा बसेका सेवाग्राहीहरूले कोटा प्रणाली तत्काल हटाएर बिल काटिसकेका बिरामीको स्वास्थ्य परीक्षण गरिनुपर्ने माग राख्दै अस्पताल प्रशासनविरूद्ध नाराबाजी गरेका थिए ।

अस्पतालमा एउटा मात्र बीमाको काउन्टर हुँदा बिरामीले सास्ती पाएकोले थप काउन्टर विस्तार गर्नेमा अस्पताल प्रशासनले चासो नदेखाएको बिरामीका आफन्तहरूको भनाइ छ । सेवा लिनका लागि लाममा बसेका सयौँ बिरामीहरूले अस्पताल प्रशासनविरूद्ध साउन १८ गते नाराबाजी गरी विरोध गरेपछि त्यस नियन्त्रणका लागि सुरक्षाकर्मी परिचानल गरिएको थियो । अस्पतालमा कार्यरत तीन जना रेडियोलोजिष्टको राजीनामापछि कोशी अस्पतालको ल्याबमा रेडियोलोजिष्ट चिकित्सकको अभाव छ । अहिले अस्पतालमा एकजना मात्र रेडियोलोजिष्ट छन् ।

साउन १६ गते देखि अस्पतालमा अत्यधिक भीड भएपछि अस्पतालले दैनिक २० जनाको कोटा लागू गरेको थियो । साउन १८ गतेदेखि विरोधमा बिरामीहरूले कोटा प्रणाली खारेज गरिनुपर्ने र चिकित्सक थप गरी अस्पतालले बिरामीलाई चाँडो सेवा दिनुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।

अन्य

भिडियो