INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रकाश मानव अधिकार पुरस्कार-२०७७ सामाजिक अभियन्ता चौधरीलाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २९ औँ स्मृति दिवसका अवसरमा २७ औँ प्रकाश मानव अधिकार पुरस्कार-२०७७ कैलाली जिल्ला निवासी मानव अधिकार अभियान्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ ।

साउन १६ गते इन्सेकले धनगढीमा आयोजना गरेको कार्यक्रममा  चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो ।

चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले सम्मानपत्र, ताम्रपत्र र  नगद ५० हजार रुपियाँसहित इन्सेक चिन्ह प्रदान गरी पुरस्कृत गरिएको  हो ।

सो अवसरमा बोल्दै  मुख्यमन्त्री त्रिलोचन भट्टले समाज परिवर्तन र सामाजिक न्यायका लागि क्रियाशील व्यक्तित्वहरूई सम्मान गरेर इन्सेकले सरहानीय  कार्य गर्दै आएको बताउनु भयो ।

उहाँले संविधानमा उल्लेखित मौलिक हक र प्रदेशको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न बौद्धिक व्यक्तित्व तथा नागरिक समाजको सहयोग महत्वपुर्ण रहने बताउनु भयो ।

उहाँले भन्नु भयो-‘समुदायमा व्याप्त कुरीति र विसङ्गति हटाउन इन्सेकले सचेतनामूलक कार्य गरी जिम्मेवार निकायलाई जबाफदेही बनाउने प्रयास गरिरहेको छ । प्रदेश सरकार पनि मानव अधिकारको प्रत्याभूति दिलाउन प्रयत्नरत छ । यसका लागि सबैको साझा प्रयास र सहयोगको अपेक्षा गर्दछु । ’

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सामाजिक न्यायका लागि विभिन्न अभियानमा योगदान पुर्‍याएका तर राज्यले चिन्न नसकेका व्यक्तित्वलाई इन्सेकले सम्मान गरेर मानव अधिकार तथा सामाजिक अभियान्ताहरूलाई उत्प्रेरणा प्रदान गरी सामाजिक सदभाव, न्यायमैत्री समाज  र दिगो शान्ति पुनःस्थापनामा सहयोग गरेको बताउनु भयो ।

सामाजिक विकासमन्त्री लालबहादुर खड्काले विगतमा कमैया मुक्ति, कम्लहरी, दलित, महिला तथा विभिन्न वर्गको उत्थानका लागि विगतमा आन्दोलनहरू भएका भएपनि ती आन्दोलनबाट अधिकारको पूर्णता नभएको बताउँदै नागरिक अधिकार सुनिश्चित गर्न सामाजिक अभियान्ताहरूले अझै वकालत तथा अभियानहरू सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले स्वार्गीय प्रकाश काफ्लेलाई स्मरण गर्दै इन्सेकको स्थापना, प्राची प्रकाशन, राष्ट्रिय मानव अधिकार आयोगको स्थापना र मुलुकमा भएका विभिन्न सामाजिक आन्दोलनमा इन्सेकको भुमिका महत्वपुर्ण रहेको बताउँदै आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न राजनीतिक नेतृत्व र सामाजिक अभियान्ताहरूको योगदानलाई संस्थागत गर्न आवश्यक रहेको विचार राख्नु भयो ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले स्वर्गीय प्रकाश काफ्लेले मानव अधिकारको रक्षा र विकास, मानव अधिकरको सचेतीकरण तथा जागरणमा महत्वपुर्ण योगदान पुर्‍याउनु भएको स्मरण गर्नु भयो ।

उहाँले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आएका व्यक्तिलाई स्वर्गीय प्रकाश काफ्लेको सम्झनामा प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘मानव अधिकार र सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान दिनु भएका २६ जना अभियन्ताहरूलाई यसअघि सम्मान तथा पुरस्कृत गरिसकिएको छ । यस वर्ष प्रकाश मानव अधिकार पुरस्कार कैलालीका मानव अधिकार अभियन्ता चौधरीलाई प्रदान गरेका छौँ ।’

इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारले कैलाली जिल्ला जानकी गाउँपालिका-२ खर्गोलीका फिरुलाल चौधरीले लामो समयदेखि कमैया आन्दोलनमा महत्वपुर्ण योगदान पुर्‍याएको, इन्सेकले सञ्चालन गरेको कमैया सर्वेक्षणमा महत्वपुर्ण सहयोग तथा योगदान गर्नु भएको र सशस्त्र द्वन्द्वका समयमा सर्वसाधारणको जीवन रक्षाका लागि क्रियाशील भएर मानव अधिकार संरक्षण र सम्बर्द्धनमा खेलेको भुमिकालाई विश्लेषण गरी इन्सेकले प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत  गर्ने निर्णय गरेको बताउनु भयो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले लामो समयदेखि नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र सामाजिक न्यायका पक्षमा आफ्ना गतिविधिहरू केन्द्रित गर्दै मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा सहयोग गर्दै आएको बताउनु भयो ।

photo 20210731kailali (1)

photo 20210731kailali (2)

photo 20210731kailali (4)

photo 20210731kailali (6)

photo 20210731kailali (7)

photo 20210731kailali (8)

photo 20210731kailali (9)

photo 20210731kailali (10)

अन्य

भिडियो