लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय पल्टु रविदासको साउन १५ गते बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
थुनुवा कक्षभित्र रहेको शौचालयमा पासो लगाएर झुण्डिएको अवस्थामा रविदासको शव फेला परेको प्रहरीले जनाएको हो ।
रविदासले मानसिक तनावका कारण आत्म हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनुषा थुनुवा कक्षका हवल्दार रामविशेश्वर चौधरीले बताउनु भयो ।
जिल्ला अदालत धनुषाको साउन ११ गतेको आदेशले ज्यान मार्ने उद्योेग (हत्या प्रयास) र अङ्गभङ्ग मुद्दामा रविदासलाई २ लाख रुपियाँ धरौटी राखेर रिहा गर्ने आदेश गरेको थियो ।
जिल्ला अदालत धनुषाले साउन ११ गते नै धरौटी नबुझाएको खण्डमा रविदासलाई जिल्ला कारागार सिन्धुली पठाउने आदेश दिएको थियो ।
अदालतले धरौटी मागेबमोजिमको रकम जोहो गर्न समय लाग्ने भएकाले एक/दुई दिन ढिलो गरी थुनमा नै राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले घटनाबारे अनुसन्धान भइरहेको इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।
शवलाई पोस्टमाटर्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप भन्न सकिने प्रहरीले जनाएको छ ।