व्याँस गाउँपालिका–२ मालघाटस्थित महाकाली नदीमा तुइन तर्दै गरेको अवस्थामा सीमा सुरक्षा बल (एसएसबी) ले साउन १५ गते तुइन काटिदिएपछि व्याँस गाउँपालिका–२ का ३५ वर्षीय जयसिंह धामी माहाकाली नदीमा खसेर बेपत्ता भएको पीडित पक्षको आरोप छ ।
व्याँसबाट सदरमुकाम खलङ्गा आउन लागेका धामी साउन १५ गते बिहान माहाकाली नदीमा तुइन तरिरहेको अवस्थामा भारतीय प्रहरी–एसएसबीले नदीमा लगाइएको तुइन काटिदिएपछि धामी माहाकाली नदीमा खसेर बेपत्ता भएको स्थानीय विक्रमसिंह धामीले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘५- ६ जना स्थानीय व्यक्ति सामान लिन भारतको बाटो हुँदै सदरमुकाम खलङ्गा आइरहेका थियौँ । जय माहाकाली नदीमा तुइन तर्दै थिए । एक्कासी भारतीय प्रहरी आएर तुइन काटन सुरु गर्यो । धामी नदीको बिचभागमा पुग्दा तुइन चुँडिएपछि उनी नदीमा खसेर बेपत्ता भए ।’
नेपालतर्फ सडक नहुँदा ब्याँस क्षेत्रका स्थानीय जिल्ला सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो भएर माहाकाली नदीमा तुइन तरेर आउनु पर्ने बाध्यता छ ।
सरकारले तुइनमुक्त कार्यक्रम अन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउने योजना गरेको भएपनि पुल निर्माण कार्य अलपत्र अवस्थामा रहको छ । व्याँसका नागरिक औषधिलगायत अति आवश्यक उपभोग्य सामग्री ल्याउन र आवतजावत गर्न यहि तुइन प्रयोग गर्ने गर्थे ।
बेलाबेला भारतीय प्रहरी (एसएसबी) ले तुइन काटिदिने गरेको भएपनि स्थानीयले लुकीछिपी माहाकाली नदीमा तुइन लगाएर नदी वाारपार गर्दै आएका छन् ।
भारतीय प्रहरीले तुइन काटिदिँदा घटना भएको भन्ने जानकारीमा आएको र घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर नरेन्द्र चन्दले बताउनु भयो ।
घटनाको विरोध गर्दै व्याँस गाउँपालिका र मालका स्थानीयले आवश्यक कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएका छन् ।
माहाकाली नदीमा झोलुङ्गे पुल निर्माणको लागि तीन वर्षअघि नै ठेक्का लगाएको भएपनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि पुल निर्माण नभएको भन्दै निर्माण व्यवसायीलाई समेत कारवाही गर्न स्थानीयले माग गरेका छन् ।
खै कहाँ छ व्याँसीलाई सरकार ? आफ्नै गाउँ जान छैन बाटो
जिल्ला सदरमुकाम खलङ्गाबाट व्याँसको छाङ्गरु तिङ्कर जान घोरेटो बाटो ठाउँठाउँमा अवरुद्ध भएको छ ।
व्यास गाउँपालिका-२ देखि वडा नम्बर १ सम्मका दर्जनौँ ठाउँमा बाटो पूर्ण रूपमा अवरुद्ध छ । बाटो नहुँदा गाउँसम्म पुग्न सक्ने अवस्था छैन ।
दुई ओटा तारमार्फत ज्यान जोखिममा राखेर माहाकाली नदीमा तुइन तरेर स्थानीय आवतजावत गर्न बाध्य छन् ।
सामान्यतया सदरमुकाम खलङ्गाबाट चार दिनको पैदल दुरीमा पुगिन्छ व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरु र छाङ्गरुबाट झण्डै चारदेखि पाँच घण्टाको दुरीमा पर्छ तिङ्कर गाउँ । यो गाउँसम्म पुग्न नेपाल सरकारले अहिलेसम्म घोरेटो बाटोसमेत निर्माण गर्न सकेको छैन ।
बनाएको बाटो समेत भारतीय सरकारले सडक निर्माण गर्ने क्रममा नदीमा ढुङ्गा थुप्रिन गएर नेपालतिर बढी क्षति भएको छ ।
‘अहिलेको अवस्थामा व्याँसीहरूको लागि कुनै सरकार नभएको आभास भएको छ ।’-व्याँस गाउँपालिका–१ का स्थानीय जसमलसिंह बुढाथोकीले भन्नु भयो-‘तीन तहको सरकार भइदिएको भए महिनौँ दिनसम्म बाटो अवरुद्ध हुनु नपर्ने हो ।’
गत वर्ष घाटिबगरमा नेपाली सेनाले बनाएको घोरेटो बाटोको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले व्याँसीहरूले आफ्नै भूमि भएर हिँड्न पाउने छन् भनेर उद्घोष गर्नु भएको थियो ।
तर, अहिले त्यही बाटो पनि आधा भत्किएको छ । अन्य क्षेत्र पनि पहिरोले हिँड्न लायक छैन ।
अहिले स्थानीयले घण्टौँ घुमेर डाँडा कटाएर आउनु पर्ने अवस्था आएको जसमलसिंह बुढाथोकी बताउनु हुन्छ ।
‘हामीलाई आफ्नो भूमि जान पनि सरकार नभएको अनुभूति भएको छ । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको भूगोल समेटेर नक्सा जारी गरेपछि खुबै चर्चा थियो । तर, अहिले कोही पनि फर्केर आउँदैनन् ।’-व्याद्दसीहरूको गुनासो छ ।
व्याँसीहरूले बाटोघाटोको मात्र हैन, टेलिफोन सेवा पनि पाएका छैनन् । गत मङ्सिरमा बिग्रिएको स्काई फोन सेवा अझै सुचारु भएको छैन ।
सशस्त्र प्रहरीकोमा राखिएको ल्याण्ड लाइन फोन सेवा घाम लागेमात्रै काम गर्छ । झन तिङकर गाउँमा कहिल्यै फोन लाग्दैन ।
नागरिकले आफ्नै भूमि भएर गाउँसम्म जान नपाउनु विडम्बना भएको बताउनु हुन्छ व्याँसका स्थानीय कल्यान विष्ट ।
बाटोघाटो नहुँदा व्याँसको छाङ्गरु तिङ्कर दुम्लिङलगायतका क्षेत्रमा खाद्यान्न ढुवानी गर्न नसकिएको स्थानीय मुकेश बुढाथोकीले बताउनु भयो ।
उहाँले भन्नु भयो-‘भारतीय एसएसबीले तुइन काटेर हिँड्न दिएको छैन । गाउँमा खाद्यान्न अभाव हुने अवस्था आएको छ ।’
साउन ७ गते इन्सेक अनलाइनमा पुल निर्माण नहुँदा अझै तुइनको सहारा ! शीर्षकमा एक फिचर प्रकाशन गरिएको थियो । उक्त फिचरमा माहाकाली नदीमा पुल निर्माण नहुँदा व्याँस गाउँपालिकाका नागरिकहरु अझै पनि उर्लदो महाकाली नदी वारपार गर्न तुइनको ताङ्लोमै सहारा लिनु पर्ने बाध्यता रहेको उल्लेख गरिएको छ ।