INSEC Online

📅 २०८३ जेष्ठ २१

तालाबन्दीले परीक्षा दिन नपाएको विद्यार्थीहरुको गुनासो

संयुक्त विद्यार्थी संगठनहरूले १९ बुँदे माग राखी मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेका कारण परीक्षा स्थगित भएपछि आफूहरूले परीक्षा दिन नपाएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

विश्वविद्यालयले साउन १२ गतेदेखि विज्ञान तथा प्रविधि संकाय अन्तरगत स्नातक तह तथा १३ गतेदेखि स्नातकोत्तर, १५ गतेदेखि कानुन संकाय र क्रमश अन्य विषयको परीक्षा सञ्चालन गर्ने सूचना टाँस गरेपनि तालाबन्दीका कारण परीक्षा स्थगित हुँदा  विद्यार्थीहरू मर्कामा परेका छन् ।

सयुंक्त विद्यार्थी संगठनहरूको आन्दोलन र मप विश्वविद्यालय पदाधिकारी तथा प्रशासनको कमजोरीको कारण तोकिएको समयमा परीक्षा दिनबाट बञ्चित हुन परेको विज्ञान तथा प्रविधि संकाय स्नातक तहका विद्यार्थी रमेश पौडेलले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

परीक्षा सञ्चालन गर्ने सूचना टाँस गरिसकेपछि एकाएक स्थगित गरिएको प्रति आक्रोश व्यक्त गर्दै पौडेलले तोकिएकै समयमा परीक्षा सञ्चालन गर्नु पर्ने माग गर्नु भयो ।

विश्वविद्यालय परीक्षा शाखाले विवाद समाधान नै नगरी परीक्षा सञ्चालन गर्ने र १२ गते मध्यराती मात्र सूचना टाँस गरी एक साताका लागि परीक्षा स्थगन गर्नु विश्वविद्यालयकै कमजोरी रहेको अर्का परीक्षार्थी रीता खड्काको भनाइ छ ।

संयुक्त विद्यार्थी संगठनहरूले कोभिड–१९ सययावधिको शुल्क मिनाहा गर्नुपर्ने र अनलाइनबाटै परीक्षा सञ्चालन गर्नु पर्ने लगायतका १९ बुँदे माग राखेर साउन ३ गते मप विश्वविद्यालयको केन्द्रीय, रजिष्टार, डिनहरूको कार्यालय तथा परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।

तालाबन्दी गर्नुपुर्व पटक पटक मप विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्द सिंललाई ज्ञापन पत्र बुझान जाँदा ज्ञापनपत्र बुझन  र बार्तामा बस्न नमानेको कारण बाध्य भई तालाबन्दीमा उत्रनु परेको नेविसंघका केन्द्रीय सदस्य हरिप्रसाद शर्माले बताउनु भयो ।

यसबारेमा मप विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले वार्ताद्वारा समस्या समाधान गर्न आफूहरू तयार रहेको र एक सातापछि परीक्षा  सञ्चालन गरिने बताउनु भयो ।

विश्वविद्यालयले प्राडा दीपबहादुर रावलको संयोजकत्वमा गठित उच्च स्तरीय वार्ता समितिसँग संयुक्त विद्यार्थी संगठनहरूले वार्ता गर्न अस्वीकार गरेपछि साउन १३ गते मडा. लिलाधर तिवारीको संयोजकत्वमा वार्ता टोली गठन गरिएपनि आन्दोलनरत विद्यार्थीहरू नै वार्तामा आउन नमानेको जानकारी दिनु भयो ।

अन्य

भिडियो