INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा स्वयम्सेविकामाथि कुटपिट, आरोपितविरुद्ध उजुरी दर्ता

जनकपुरधाम उपमहागरपालिका–१४ रजौल घर भई सोही वडामा महिला स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत ३५ वर्षीया शिलादेवी महरालाई कथित बोक्सी आरोपमा कुटपिट गरेको भन्दै पीडितले सोही ठाउँका ४८ वर्षीय मङ्गल महरा, ४५ वर्षीय सुमिन्त्रादेवी महरा, २७ वर्षीय सञ्जित महरा, २० वर्षीय रविन महरा र २६ वर्षीया देवकीदेवी महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा साउन १३ गते उजुरी दर्ता गराउनु भएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालयमा पीडित महिलाले दिएको उजुरी दर्ता नगरेपछि इन्सेक, ओरेक र महिला अधिकार रक्षक सञ्जाल धनुषाको संयुक्त पहलमा जिल्ला सरकारी वकिलको कार्यालयमा उजुरी दर्ता गरिएको हो ।

पीडित शिलादेवीका अनुसार घरमा एक्लै भएको बेला आरोपितहरूले साउन १ गते कुटपिट गर्दै मलमुत्र कोच्याउने प्रयास गरेका हुन् ।

‘मलाई सडकमा पछारेर तेरो सासूसमेत बोक्सी छिन् र अब यसले पनि बोक्सी सिकेकाले मलमुत्र खुवाउनु पर्छ भन्दै कुटपिट गरे ।’–पीडितले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको उपचार साउन १ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले आरोपितहरूविरुद्ध सरकारी वकिल कार्यालयमार्फत उजुरी आएपछि कारवाही प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

अन्य

भिडियो