इन्सेक सहित नागरिक संघ संस्थाहरूको टोलीले जिल्लामा सञ्चालित कोभिड–१९ विरूद्धका खोप केन्द्रहरूलाई व्यवस्थित गर्नुपर्ने माग गरेका छन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल र गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसी सहितको टोलीले साउन १४ गते प्रमुख जिल्ला अधिकारी एवम जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष छविलाल रिजाललाई भेटेर यस्तो माग गर्नुभएको हो ।

टोलीले प्रजिअ रिजाललाई इन्सेकले साउन १२ गते वीरेन्द्रनगर नपा–७ र ८ को कोभिड–१९ खोप केन्द्रहरूको अनुगमनको क्रममा खोप केन्द्रहरू अव्यवस्थित रूपमा सञ्चालन गरिएको, जेष्ठ नागरिक तथा अपाङ्गता मैत्री नभएको, पहुँचको आधारमा खोप लगाइएको र लक्षित समुदायले सहज रूपमा खोप पाउन नसकेको पाइएको बारेमा जानकारी गराएको थियो ।
यस्तै खोप केन्द्रमा स्वास्थ्य मापदण्डको पालना नगरिएको, लक्षित समुदायको परिचयपत्र अनिवार्य नगरिएको र व्यवस्थित रूपमा खोप सञ्चालन गर्नेतर्फ स्वयम सरोकारवालाहरूले नै चासो नदिएको पनि अनुगमनमा देखिएकोले यस सम्बन्धमा प्रजिअको ध्यानाकर्षण गराइएको थियो ।
भेटका क्रममा प्रजिअ रिजालले खोप केन्द्रमा देखिएका गलत कुराहरू औंल्याइदिएकोमा धन्यवाद दिँदै अबका दिनमा खोप केन्द्रहरू व्यवस्थित गरिने प्रतिबद्धता जनाउनु भएको छ ।