रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार ५५ वर्ष माथिका नागरिक र शिक्षकहरूलाई लगाउने भनिएको कोभिड–१९ विरूद्धको खोप साउन १३ गतेदेखि सुरु भएको छ ।
खोप केन्द्रमा अत्यधिक भीडका कारण खोप लगाउन जाँदा आफूहरू झन जोखिममा रहेको स्थानीय ५६ वर्षीया काली घर्तिले गुनासो गर्नुभयो ।
खोप लागाउने स्थानमा व्यवस्थापन राम्रो नभएको, चिनेको आधारमा अन्य व्यक्तिहरूलाई स्थान दिने गर्नाले आफूहरू लामो समय लाइनमा बस्नु परेको उहाँको भनाइ थियो । 
मुसीकोट नगरपालिकाका खोपकेन्द्रमा नागरिकको भीड धेरै नै भएको र लक्षित समूहभन्दा बाहिरका व्यक्तिलाई पनि खोप दिएको, खोप केन्द्र व्यवस्थित नभएको र लक्षित समूहलाई वास्ता नगरिएको नागरिको गुनासो रहेको छ ।
खोप केन्द्रमा भीड हुन नदिन व्यवस्थित रूपमा लाइन लाग्न आग्रह गर्दा पनि नागरिकले भीडभाड गरिदिँदा समस्या भएको खोप सुपरभाइजर सुस्मा खड्काले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
अघिल्लो पटक आफूलाई खोप नपुगेको भनेर फर्काएको र यस पटक पनि खोप लगाउन लामो समय लाइनमा बस्नुपर्दा समस्या भएको ६७ वर्षीया टिमुनीदेवी खत्रीले बताउनु भयो । उहाँका अनुसार खोप केन्द्रमा भीड हुँदा पालो नआएपछि कतिपय नागरिक खोप नलगाएर नै घर फर्किएका थिए ।
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार शारदा नगरपालिका–२ डाँडागाँउ निवासी महेशकुमार बस्नेतले खोप केन्द्रमा लाइन लागेको लामो समयसम्म पनि पालो नपाएको गुनासो गर्नुभयो ।
शारीरिक रूपमा अशक्त उहाँले अपाङ्गता भएका व्यक्तिहरु लाइनमा बस्नु परेको र अन्य व्यक्तिहरू भने भनसुनको आधारमा भित्र पसेर खोप लगाउने गरेको गुनासो गनुभयो । 
५५ वर्ष माथिका नागरिक, शिक्षक, कर्मचारी, यातायात व्यवसायी र पहिले खोप लगाउन छुटेका लक्षित वर्गका लागि खोप आएको भनिए पनि भनसुनका आधारमा अन्यले समेत खोप लगाएको तर लक्षित वर्गका व्यक्तिहरूले दिनभरी पालो कुरेर बेलुका मात्रै खोप लाउन पाएको ५९ वर्षीया देउकी केसीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
वडा नम्मर २ का खोप अधिकृत दिनेश चन्दले खोप केन्द्रमा आएर खोप लगाउने कसैको स्वास्थ्यमा केही समस्या नदेखिएको तर अत्यधिक भीडका कारण पालो तल माथि भएको हुन सक्ने बताउनुभयो ।
जिल्लामा ७ हजार २ सय ४० डोज भेरोसिल खोप आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन १३ गते शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र कपुरकोट गाउँपालिकामा खोप सञ्चालन भयो । बाँकी स्थानीय तहमा भने साउन १४ गते खोप लगाउने कार्यक्रम रहेको श्रेष्ठले बताउनुभयो । 
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार हालसम्म हुम्लामा ७ हजार १ सय ७३ जनाले कोभिड १९ विरूद्धको खोप लगाएको जिल्ला अस्पताल हुम्लाका कोल्डचेन असिस्टेण्ड मानबहादुर रोकायाले जानकारी दिनु भयो ।
उहाँका अनुसार पहिलो चरणमा उपलब्ध भएको कोभिसिल्ड भ्याक्सिन जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति गरेर जम्मा ३ हजार ७ सय ७१ जनाले दोस्रो चरणको कोभिसिल्ड भ्याक्सिन लगाउन नपाएको रोकायको भनाइ छ ।
यस्तै जिल्ला बाहिरबाट खोप उपलब्ध गराउनका लागि मौषम प्रतिकुलताका कारण समयमै जिल्लामा खोप उपलब्ध नहुनु, गाउँमा पर्याप्त रूपमा स्रोत साधनहरू अभाव हुनु जस्ता समस्याले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लक्षित वर्गका मानिसहरूले समयमै खोप लगाउन नपाएको रोकायाले बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत