सानीभेरी गाउँपालिका–८ का अध्यक्ष ५० वर्षीय शसिराम बुढाथोकीलाई ०७८ साउन १२ गते नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मोसो दल्नुका साथै जुत्ताको माला लगाएर अमानवीय व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
समूहका कार्यकर्ताहरू आठविसकोट नपा–३ का २३ वर्षीय शिव विक र आठविसकोट नपा–११ का २३ वर्षीय प्रकाश रसाइलीले वडाध्यक्षको कार्यकक्षमै गएर दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
डिएसपी श्रेष्ठका अनुसार आरोपित दुवैजनालाई साउन १३ गते गिरफ्तार गरी अनुसन्धान थालिएको छ ।
आरोपितहरूको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्लेमा गरिएको अस्पतालका निमित्त व्यवस्थापक विष्णु बुढाथोकीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी सानोभेरी गाउँ समितिका सेक्रेटरी शिव विकले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको छहरेपानी तल्लो आमडाँडा सिंचाई आयोजना उपभोक्ता समितिबाट ३ लाख रुपियाँ भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष बुढाथोकीलाई कालोमोसो दलेर कार्वाही गरेको जनाइएको छ ।
पीडित वडाध्यक्षले आरोपितहरूले तीन लाख रूपियाँ चन्दा मागेको र आफूले दिन नसकेपछि अनियमितताको आरोप लगाएको इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।
वडाध्यक्ष बुढाथोकीले आफूमाथि निराधार आरोप लगाएर अमानविय व्यवहार गरेको भन्दै घटनामा संलग्नहरूलाई कारबाहीका लागि साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको जानकारी गराउनुभयो ।