INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड—१९ सङ्क्रणविरुद्धको खोप पाउनबाट वन्चित रहेको स्थानीयहरुको गुनासो

सरकारले कोभिड–१९ सङ्क्रणविरुद्धको खोप लक्षित उमेर समुहका लागि लगाउने भनेर सुरु गरेको भएपनि लक्षित समुह भन्दा पनि पहुँच भएका व्यक्तिहरुलार्ई समेत खोप लगाइएको कारण आफूहरु खोप पाउनबाट वन्चित भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले अग्रपङ्तिमा काम गर्ने र लक्षित उमेर समुहका व्यक्तिहरुलाई खोप दिने भनेर पहिलो र दोस्रो चरणमा खोप अभियान सञ्चालन गरेको भएपनि लक्षित वर्गले सूचना नपाउँदा तथा पहुँच भएका व्यक्तिहरुलाई पनि खोप उलब्ध गराउँदा आफूहरु खोपबाट वन्चित भएको स्थानीयको आरोप छ ।

कोभिड—१९ सङ्क्रमणविरुद्धको पहिलो खोप ०७७ फागुन महिनामा लगाएको भएपनि चार महिना बितिसक्दा पनि दोस्रो डोज खोप नपाएको धनगढी उपमहानगरपालिका—१ का ७० वर्षीय रोगाही डगौराले इन्सेक प्रतिनिधिसँग भएको भेटमा दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो— ‘असारमा दोस्रो खोप लगाउनका लागि धनगढीस्थित कभर्ड हलमा दिन भरी लाइन बस्दा समेत अन्त्यमा भेरोसिल खोप लगाउन नमिल्ने भन्दै फकाई दिए ।’

धनगढी उपमहानगरपालिका—१५ का ६८ वर्षीया रेश्मीदेवी चौधरीले फागुनमा पहिलो खोप लगाएको भएपनि दोस्रो चरणमा सञ्चालन गरेको खोप अभियानका समयमा आफूलाई कुनै सूचना नै नदिइएको कारण खोप लगाउन नपाएको इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

धनगढी उपमहानगरपालिका—१५ का ६० वर्षीय करमलाल रानाले फागुनमा पहिलो खोप लगाएर अहिलेसम्म दोस्रो खोप लगाउन नपाएको दुखेसो पोख्नु भयो ।

धनगढी उपमहानगरपालिका—१ बसन्त टोलका ६० वर्षीय हरीनारयण गिरीले पहुँचको आधारमा अन्य उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइदिदा आफूहरु खोपबाट वञ्चित भएको इन्सेक प्रतिनिधिसँगको भेटमा गुनासो गर्नु भयो ।

गौरीगंगा नगरपालिका—१ चौमालाका ६० वर्षीय अकबिर साउदले कोभिड—१९ विरुद्धको पहिलो डोज लगाएको भएपनि दास्रो डोज खोप लगाउने भनेर दिन भरी लाइनमा बसेर खोप नै नपाएर फर्किएको  गुनासो गर्नु भयो ।

गौरीगंगा नगरपालिका—१ चौमालाकी सामाजिक अभियन्ता सुमन शिलाधरले फागुनमा नगरपालिकाको सिफारिसमा पहिलो खोप लगाएको भएपनि दोस्रो डोज खोप कुरेर बसिरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो— ‘पहिलो खोप लगाएको चार महिना बितिसक्दा पनि कोभिडशिल्डको दोस्रो डोज खोप नआउँदा ज्येष्ठ नागरिकहरु खोप पाउनबाट वन्चित भएका छन् ।’

धनगढी उपमहानगरपालिका—१ का वडाध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले संघीय सरकारले खोप खरिद गरेर पठाएको खण्डमा सरकारले तोकेको मापदण्ड अनुसार खोपको व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरिने बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका प्रमुख लालबहादुर धामीले नेपालमा कोभिड—१९ विरुद्धको कोभिडशिल्ड, भेरोशिल्ड र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारको खोप आएकाले पहिलो खोप अभियान अन्तर्गत ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप दिएको भएपनि  दोस्रो चरणमा खोप नआएका कारण लक्षित वर्ग खोप पाउनबाट वन्चित हुनु परेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पहिलो र दोस्रा चरणमा सञ्चालन गरेको खोप अभियानमा १८ वर्ष उमेर भन्दा माथिका सबैले लगाउन मिल्ने भएकाले लक्षित उमेर समुह मात्रै नभएर अन्यले पनि लगाएको हुन सक्छ । तेस्रो चरणको खोप अभियानमा निगरानी र अनुगमन गर्ने योजना बनाएका छौँ ।’

सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले मन्त्रालयबाट निर्णय गरेर बजेट निकासा गर्ने काम भएकाले खोपको व्यवस्थापन, कार्यान्वय, अनुगमन तथा तथ्याङ्क राख्ने काम जिल्ला स्वास्थ्य कार्यालयको रहेको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर जगदिश जोशीले पहिलो चरणको खोप अभियानमा २ लाख ४८ हजार ३ सय ६० जना र दोस्रो चरणको खोप अभियानमा ७१ हजार १ सय ४२ जनाले खोप लगाउनु भएको बताउँदै पहिलो र दोस्रा चरणको खोप अभियानका क्रममा लक्षित उमेर समुहका व्यक्तिहरुले खोप नपाएको भन्ने लिखित उजुरी नआएको बताउँनु भयो ।

अन्य

भिडियो