INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेश सरकारद्वारा राउटे समुदाय मुलप्रवाहीकरण नीति तयार

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउने नीति ल्याएको छ ।

जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई स्थायी रूपमा बसोवास गराउने, संस्कृति र परम्परा जर्गेना गर्ने, नागरिकता प्रदान गर्ने र राउटे भाषालाई लिपिवद्ध गर्दै उनीहरूको संरक्षण गर्ने नीति ल्याएको सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

राउटे समुदायको जातिय मौलिकताको संरक्षण, बसाइलाई व्यवस्थापन गर्दै स्थायी रूपमा बस्ती बसाल्ने, उनीहरूको कला तथा सीपलाई आधुनिकीकरण गरी आयआर्जन र जीविकोपार्जनका लागि आत्मनिर्भर बनाउने नीति ल्याइएको मन्त्री बुढा क्षेत्रीले जानकारी दिनु भयो ।

सामाजिक विकास मन्त्रालयले तयार गरेको अति लोपोन्मुख राउटे समुदाय मुल प्रवाहकिरण नीति ०७८ मा मानव सभ्यताको इतिहास बोकेको राउटे समुदायको पहिचान मौलिकता र मानव अधिकारको संरक्षण गरी समतामुलक समाज निमार्ण गर्ने लक्ष्य लिइएको उल्लेख छ ।

20210720 raute Skt

उक्त नीतिमा राउटे बासस्थानलाई पर्यटन प्रवद्र्धन गरी लोप हुनबाट बचाउने तथा बाह्य समुदायबाट हुने हानी नोक्सानी तथा हिंसाजन्य जोखिमको अन्त्य गर्ने कुरालाई समावेश गरिएको छ ।

यस्तै उनीहरूको आधारभूत आवश्यकताको रूपमा रहेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास सहित समग्र मानव अधिकार संरक्षण सम्बद्र्धनको सुनिश्चित गरिने पनि नीतिमा समेटिएको छ ।

राउटे समुदायलाई मुल प्रवाहीकरणमा ल्याउन सामाजिक विकास मन्त्रीको  अध्यक्षतामा सबै मन्त्रालयका सचिवहरू रहने गरी ८ सदस्यीय निर्देशक समिति पनि गठन गरिएको मन्त्रालयले जनाएको छ ।

०६८ को जनगणना अनुसार ६ सय २८ जना राउटे समुदाय रहेकोमा हाल १ सय ४३ जना मात्र रहेको मन्त्रालयको तथ्याङ्क छ ।

20210720 raute Skt 1

अन्य

भिडियो