यसवर्षको मानव अधिकारतर्फ भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार-२०७७ बाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पुरस्कृत भएको छ ।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा असार २५ गते काठमाडौँमा आयोजित एक समारोहमा इन्सेकलाई १ लाख रुपियाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले १ लाख रुपियाँ नगद र ताम्रापत्रसहित पुरस्कृत गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनु भयो।

भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालको संस्थापक अध्यक्षसमेत रहनु भएका छविलाल विश्वकर्माले सर्वजितको सम्मानमा सरकारले हुलाक टिकट प्रकाशन गरेको बताउनु भयो ।
दलित जागरणका लागि राणाशासन कालमै आन्दोलनमा होमिएका समाजका अगुवा व्यक्ति भगत सर्वजितको नाममा २०७२ सालमा यो पुरस्कार स्थापना गरिएको हो ।
भारत गएर वेदपुराणको अध्ययन गर्नु भएका सर्वजित विश्वकर्माले राणाशासनकै बेला दलित आन्दोलनको अगुवाइ गरी समाज परिवर्तनको नेतृत्व गर्नु भएको थियो ।
दलित जागरणका लागि काम गर्ने तीन जनालाई सरकारले वर्षेनी यो पुरस्कार वितरण गर्दै आएको छ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट दलित मुक्ति आन्दोलनको क्षेत्रतर्फ बैतडीका पुरनसिंह दयाल, मानव अधिकार क्षेत्रतर्फ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सीप, कला, शिक्षा, साहित्य, संस्कृति लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रतर्फ जागरण मिडिया सेन्टर पुरस्कृत भएका हुन् ।
गत वैशाख ५ गते घोषणा गरिएको पुरस्कार असार २५ गते प्रदान गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्रले जातीय विभेद अन्त्यका लागि स्थापना कालदेखि नै जनजागरणका विभिन्न काम गर्दै आएको छ ।
पुरस्कार लिएपछि इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले इन्सेकले आफ्नो स्थापना कालदेखि नै दलित अधिकारका क्षेत्रमा योगदान गर्दै आएको बताउनु भयो ।
