INSEC Online

📅 २०८३ जेष्ठ २१

राप्तीमा कर्फ्यु जारी, जनजीवन सामान्य

राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको शव स्थानीय जङ्गलमा असार २० गते फेला परेको घटनापछि भएको विरोध प्रदर्शन र राजमार्ग अवरोध गरेपछि असार २२ गतेबाट लगाएको कर्फ्यु असार २३ गते पनि जारी रहेको छ ।

घरबाट असार ११ गते साथीकोमा तरकारी लिन भनेर निस्किएकी भण्डारीको हत्या भएको भन्दै स्थानीयले हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै असार २२ गते पूर्वपश्चिम राजमार्ग अबरोध गरेका थिए ।

प्रदर्शनकारीबाट अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले २२ गते राती ७.३० बजेदेखि राप्ती नगरपालिका–१ लोथरपुलदेखि वडा नम्बर ४ को डढुवाचोकसम्म पूर्वपश्चिम राजमार्गबाट दायाँबायाँ ५ सय मिटर वरपर कर्फ्यु लगाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले हिजो बेलुका साढे ७ बजेदेखि २३ गते राती ७.३० बजेसम्मको लागि कर्फ्युको आदेश जारी गर्नुभएको हो । कर्फ्यु लगाएपछि सो क्षेत्रको अहिलेको अवस्था सामान्य बनेको छ ।

कर्फ्युको समयमा कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नफाउने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनु भयो ।

सो क्षेत्रको पूर्वपश्चिम राजमार्गको वरपर सुनसान रहेको छ । तर पूर्व–पश्चिम राजमार्ग भएर चल्ने लामो दूरीका सवारी साधनहरू सञ्चालन भएका छन् ।

अन्य

भिडियो