INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण भएको भनिएकी महिलाको शव फेला

राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव स्थानीय सामुदायिक वनमा असार २० गते फेला परेको छ । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीले असार २० गतेसाँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको र घटनास्थल सील गरिएको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको भए पनि परिवारले पहिचान गरी सुजिताको भएको भनी सनाखत गरिसकेका छन् ।

सुजिता असार ११ गते बिहान ६ बजे तरकारी लिन साथीको घर जाने भनेर हिँडेकी थिइन् । सोही दिन १२ बजे मलाई दुई जना महिला र एक जना पुरुषले गाडीमा चढाएर अपहरण गरे, मलाई बचाउनु भनेर दिदीलाई फोनमा भनेदेखि उनी सम्पर्क बिहीन भएकी थिइन् ।

पीडित परिवारले सोही दिन भण्डारास्थित प्रहरी कार्यालयमा छोरी अपहरणमा परेको भन्दै खोजबिनको लागि निवेदन दिएका थिए । पीडित परिवारले प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान नगर्दा सुजिताको हत्या भएको बताएका छन् ।

यसैबlच, शव उठाएर पोष्टमार्टमका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा स्थानीयले अवरोध गरेका छन् । उनीहरूले सुजिताको हत्या भएको र हत्यारा पत्ता लगाउन प्रहरीलाई दबाब दिन पूर्वपश्चिम राजमार्ग अन्तर्गत पिप्ले खण्ड अवरुद्ध गराएका हुन् ।

स्थानीयहरूले सुजिताको हत्या भएको भन्दै हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । साथै सुजिताको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सरकारले आर्थिक सहयोग गर्नुपर्ने पनि उनीहरूको माग छ ।

अन्य

भिडियो