INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारीको आन्दोलनले बालबालिकाको खोप कार्यक्रम प्रभावित

स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) तथा पद व्यवस्थापन गराउन माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि महोत्तरीमा हात्तीपाइलेको औषधि खुवाउने तथा राष्ट्रिय पोलियोलगायत खोप कार्यक्रम प्रभावित भएका छन् ।

स्वास्थ्यकर्मीहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा बसेका कारण जिल्लामा सयौँ बालबालिका खोपबाट बञ्चित भएका हुन् । आन्दोलनले ग्रामीण क्षेत्रका र्सवसाधारणसमेत स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।

जिल्ला अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा ठप्प छ । औषधि अभावको मार खेप्दै आएका र्सवसाधारणले स्वास्थ्यकर्मीको आन्दोलनले सिटामोलसम्म पाउन सकेका छैनन् ।

स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नबसेर आन्दोलनमा गएपछि पेट दुख्ने, ज्वरो आएका सामान्य बिरामी निजी अस्पताल तथा क्लिनिक धाउन बाध्य भएका छन् ।

स्वास्थ्यकर्मीको धर्नाले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका काम समेत प्रभावित भएका छन् । बालबालिकालाई लगाइने नियमित खोप, तथ्याङ्क सङ्कलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठी लगायत कार्यक्रम हुन सकेका छैनन् ।

खोप तथा पोलीयो थोपाबाट बञ्चित भएका दुधे बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने जिल्ला स्वास्थ्य कार्यालयका मनिष पाण्डेले बताए ।

धर्नाका कारण १ लाख १० हजार बालबालिका खोप कार्यक्रमबाट वञ्चित भएका छन् । धर्नाका कारण महोतरी जिल्ला अस्पताल जलेश्वर तथा बर्दिवास अस्पताल सहित पाँच ओटा प्राथमिक स्वास्थ्य केन्द्र, ६८ स्वास्थ्य चौकी र जलेश्वरमा रहेको शहरी क्लिनिकमा समेत बालबालिकालाई दिइने खोप कार्यक्रम प्रभावित भएको छ ।

अन्य

भिडियो