अदानचुली गाउँपालिका-५ का ४५ वर्षीय बद्धि छत्यालको उपचार अभावमा मृत्यु भएको छ ।
गत जेठ ३१ गतेदेखि पेट दुखेपछि उपचारका लागि सोही वडाको लौँठी स्वास्थ्य चौकीमा लिँदा औषधि अभावमा बिरामीको मृत्युभएको बद्धिका भाइ मोहनराज छत्यालले आरोप लगाउनुभयो ।
‘घरबाट सदरमुकाम सिमकोट पुग्न चार दिन पैदल लाग्छ, निषेधाज्ञाको कारण अहिले जहाज पनि चल्दैन ।’-मोहनले इन्सेक प्रतिनिधिसँग भन्नुभयो-‘स्वास्थ्य चौकीमा पेट दुखाई कम गर्ने औषधि नहुँदा असार ४ गते दाइको मृत्यु भयो ।’
स्वास्थ्य चौकी इन्चार्ज विनोद बुढाले स्वास्थ्य चौकीमा पेट दुखाई कम गर्ने औषधि नभएपछि बिरामीलाई असार ३ गते कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको बताउनुभयो ।
स्वास्थ्य चौकीमा समयमै औषधि उपलव्ध गराउन नसक्दा बिरामीहरूको मृत्यु हुने गरेको इन्चार्ज बुढाको भनाइ छ । उहाँका अनुसार स्वास्थ्यचौकीमा अधिकाँश औषधि अभाव छ ।
जिल्ला अस्पतालका प्रमुख प्रेम सिंहले जिल्ला अस्पतालमा पर्याप्त औषधि भएको तर अविरल वर्षाका कारण आवत जावतमा कठिनाई भएकोले औषधि पठाउन समस्या भएको बताउनुभयो ।
अदानचुलि गाउँपालिकाका अध्यक्ष दल फडेराका अनुसार गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा ६० प्रतिशत गाउँपालिकाले र ४० प्रतिशत औषधि जिल्ला अस्पतालले उपलव्ध गराउने गरेको छ ।
गाउँपालिकाले पर्याप्त औषधि खरिद गरेको भए पनि कोभिड– १९ का कारण काठमाडौँबाट ल्याउन केहि समस्या भएकोले अभाव देखिएको अध्यक्ष फडेराको भनाई छ ।