तनहुँको व्यास नपा–९ गजौडे स्थित माहिन्द्री माविमा विद्यार्थी पाउने छात्रवृत्तिको रकम नपाएका गुनासो गरेका छन् ।
शैक्षिक सत्र २०७७ को छात्रा छात्रवृत्ति र दलित छात्रवृत्तिको रकम विद्यार्थीले पाएका छैनन् ।
विद्यालय प्रशासनले भने सबै विद्यार्थीसँग छात्रवृत्ति बुझेको भरपाइ गराइसकेका छन् ।
उक्त रकम ०७७ साल भित्रै बुझाउनुपर्ने व्यवस्था भएपनि विद्यालयले भने अहिलेसम्म बुझाएका छैनन । तर नगरपालिकामा भने सबैले छात्रवृत्ति पाएको भरपाइ बुझाइ सकिएको छ ।
सरकारले कक्षा ८ सम्मका सबै छात्रा र त्यसभन्दा माथिका दलित छात्र/छात्राकोलागि प्रति विद्यार्थी वार्षिक ४ सय रुपियाँ छात्रवृत्तिको रकम उपलब्ध गराउँदै आएको छ ।
तर उक्त विद्यालयका सबै छात्राहरुले छात्रवृत्तिको रकम बुझिलिएको भरपाइ गरेपनि कसैले पनि रकम भने पाएका छैनन् ।
सोही विद्यालयमा अध्ययनरत कक्षा ८ की छात्रा क्रान्ति आचार्यले आफूले छात्रवृत्तिको रकम बुझिलिएको कागजमा हस्ताक्षर गरेपनि रकम भने नपाएको बताउनुभयो ।
‘सरहरुले छात्रावृत्ति बुझेको कागजमा हस्ताक्षर गराइसक्नुभयो ।,’–उहाँले भन्नुभयो–‘तर पैसा भने अहिलेसम्म पाएको छैन ।’उहाँका अभिभावक राजु आचार्यले पनि छात्रवृत्तिको रकम नपाएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रकाश काफ्लेले भने अधिकांश विद्यार्थीको छात्रवृत्ति रकम परिक्षा शुल्कमा कट्टा गरिएको बताउनुभयो ।
गत वर्ष कोभिडको कारण विद्यार्थीहरुलाई कुनै शुल्क नलिइकन भर्ना गरिएको भन्दै काफ्लेलेपछि लेखा शाखाबाट भर्ना शुल्कलाई छात्रवृत्तिको रकममा कट्टा गरिएको बताउनुभयो ।
तर रकम बझुाएर भर्ना गरेकाहरुले भने छात्रवृत्ति रकम पाउनुपर्ने भन्दै उहाँले यस बारेमा के भएको रहेछ भनेर लेखापालसँग बुझ्ने बताउनुभयो ।
उक्त विद्यालयमा प्रति विद्यार्थी ३ सय रुपियाँसम्म भर्ना शुल्क लिने गरेको प्रधानाध्यापक काफ्लेले बताउनुभयो । साथै कुनै कुनै पुस्तक निःशुल्क दिँदा पनि त्यसमा छात्रवृत्तिको रकम खर्च गरिएको उहाँले बताउनुभयो ।
विगतमा जेहेन्दार छात्रवृत्ति पनि आउने गरेकोमा अहिले भने उक्त छात्रवृत्ति नआएको काफ्लेले बताउनुभयो । प्रअ काफ्लेका अनुसार १ सय २५ जना विद्यार्थीले छात्रवृत्ति पाउने थिए ।
व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नागेन्द्र रेग्मीले कुनै पनि बाहानामा छात्रवृत्तिको रकम रोक्न नपाइने बताउनुभयो ।
उहाँले भर्ना शुल्क नलिएको नाममा छात्रवृत्तिको रकम रोक्न नपाइने बताउदै यसबारेमा के भएको रहेछ भनेर आफूले विद्यालयका प्रधानाध्यापकसँग जानकारी माग्ने बताउनुभयो ।