१० वर्षीया छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत लम्कीचुहा नगरपालिका—२ का ५१ वर्षीय बुवा विरुद्ध जेठ ३० गते जिल्ला अदालत, कैलालीमा जबरजस्तीकरणी र कर्तव्य ज्यान अभियोगमा मुद्दा दर्ता गरेको छ ।
आरोपित विरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यान अभियोगमा जेठ ३० गते जिल्ला अदालत, कैलालीमा मुद्दा दर्ता गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा अनुसन्धान भइरहेको जिल्ला सरकारी वकिल कार्यालय, कैलालीका सहायक न्यायधिवक्ता सुरबहादुर परियारले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।
छोरीले आत्महत्या गरेको भन्दै शवको पोष्टमार्टमका लागि बुवाले नै सेती प्रदेशिक अस्पताल, धनगढी ल्याएको अवस्थामा शवको प्रकृति र घटनाका सम्बन्धमा सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा बुवाले नै बलात्कार गरी हत्या गरेको बुझिन आएकोले आरोपित बुवालाई जेठ ३० गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, लम्कीका सई नरेन्द्र भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
जेठ २७ गते भैंसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । पीडित पक्षले आरोपितविरुद्ध जेठ २८ गते इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिएका थिए ।
शवको पोष्टमार्टम जेठ २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी सोही दिन आफन्तको जिम्मा लगाइएको सई नरेन्द्र भण्डारीले बताउनु भयो ।