राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जेठ २४ गते अध्यादेश जारी गर्नुभएको हो ।
उक्त अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रूपमा आघात पुर्याउनेलाई २ लाख रुपियाँ जरिबाना वा चार वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था राखिएको छ ।
स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय व्यवस्था गरिएको छ ।
स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई ५० हजार रुपियाँसम्म जरिबाना वा एक वर्ष कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।
त्यस्तै बिरामीको उपचारमा अवरोध गर्नेलाई २० हजार रुपियाँसम्म जरिबाना र तीन महिनासम्म कैदको सजाय व्यवस्था गरिएको छ ।
अध्यादेशको पूर्णपाठ