INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण र मानव अधिकार विषयमा सरोकारवालासँग छलफल

राष्ट्रिय मानव अधिकार अयोगले वातावरणको विषयमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूसँग वातावरण र मानव अधिकार विषयमा अन्तरक्रियात्मक छलफल गरेको छ ।

आयोगले जेठ २१ गते भर्चुअल विधिबाट आयोजना गरेको कार्यक्रममा विकास निर्माणका क्रममा वातावरणको विनास भइरहेको परिप्रेक्ष्यमा विकासलाई वातावरणमैत्री र मानव अधिकारमैत्री बनाउन पहल गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको क्षेत्रमा वातावरणको अधिकार महत्वपूर्ण र गम्भीर विषयको रूपमा रहेकाले आयोगले चासोका साथ हेरिरहेको बताउनु भएको छ ।

विकास निरन्तर चलिरहने प्रक्रिया भएकाले यसलाई अन्त्य नगरी विकासबाट शिक्षा लिनुपर्ने उहाँको धारणा छ ।

कार्यक्रममा पूर्वमन्त्री इन्जिनियर गणेश साहले वातावरणको संरक्षण, बचाउ र सुधार वर्तमान र भावी पुस्ताका लागि पहिलो शर्त भएको धारणा राख्नु भयो ।

अष्ट्रेलियाका प्रख्यात वातावरण विज्ञ प्राध्यापक डाक्टर बेन बोअरले एक देशमा भएको वायु प्रदुषणको असर विश्वमा नै परिरहेको औँल्याउदै आज वातावरणको संरक्षण र सम्बद्र्धनको विषय कुनै राष्ट्रको मात्र विषय नभई यो विश्वका मानव समुदायको साझा विषय भएको बताउनु भयो ।

भारतका वरिष्ठ अधिवक्ता एमसी मेहताले सबै मिलेर वातारण संरक्षण र वातावरणमा भएको प्रदुषणलाई न्यून गर्नेतर्फ लाग्नुपर्ने खाँचो औँल्याउनु भयो ।

वातावरण विज्ञ डाक्टर हेमू काफ्लेले ९० प्रतिशत विश्वको जनसङ्ख्याले प्रदुषित हावाबाट नियमित श्वास लिइरहेको उल्लेख गर्दै भावी पुस्ताको लागि जीवन र पृथ्वीको समेत सुरक्षा गर्नु आफूहरूको कर्तव्य भएको बताउनु भयो ।

राष्ट्रपति चुरे संरक्षण बोर्डका सदस्य सचिव डाक्टर कृष्ण आचार्यले स्वच्छ वातावरण कुनै एक देशको मात्र मुद्दा नभई आज विश्वको साझा मुद्दाका साथै मानव अधिकारको विषय बनेको बताउनु भयो ।

संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि एशनी मेडागङगोडा लाबेले सबै मिलेर स्वच्छ वातावरणमा बाँच्न पाउने मानव अधिकारलाई संरक्षण गर्नेतर्फ एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वातारवरण र मानव अधिकारका सम्बन्धमा भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, दिगो विकासका लक्ष्यलगायतका अन्य प्रतिबद्धताहरूलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्दै लैजान सम्बन्धित पक्ष जिम्मेवार र जबाफदेही बन्नु पर्नेमा जोड दिइएको थियो ।

सहभागीहरूले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने तथा वातावरण र विकासलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताए ।

अन्य

भिडियो