बाँकेको भेरी अस्पतालमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिटको घटना तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको परिस्थितिमा भएको घटनाको आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले जेठ १४ गते नै स्थलगत अनुगमन गरेको आयोगले जनाएको छ ।
भेरी अस्पतालमा उपचाररत एक जना सङ्क्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले जेठ १३ गते साँझ स्वास्थ्यकर्मीहरूमाथि कुटपिट गर्नुका साथै अस्पतालको कोभिड उपचार कक्षमा तोडफोड गरेको आयोगले जनाएको छ ।
चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गरेपछि चार जना स्वास्थ्यकर्मीहरू भाग्ने क्रममा एक तलामाथिबाट हाम फालेको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ ।
कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरूमाथि भएका यस प्रकारका कुटपिट तथा अस्पताल तोडफोडका घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको मनोबल र प्रतिष्ठामा नकरात्मक असर पर्ने भएकाले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गर्न आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको यस सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।