अत्यावश्यक औषधिहरुको अभावहुँदा बिरामीलाई समस्या भएको छ ।
निजी तथा सरकारी स्वास्थ्य संस्थामा अक्सिजनको अभाव भइरहेको समयमा बागलुङमा अति आवश्यक औषधिकोपनि अभाव हुन थालेको छ ।
जिल्लामा कोभिड–१९ ले विकराल रुप लिइरहेका बेला अत्यावश्यक औषधिको अभाव देखिएको धौलागिरी अस्पतालका एच.ए सरोज क्षेत्रीले बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमितलाई ज्वँरो आएको समयमा प्रयोग गरिने सिटामोल, श्वासप्रश्वासमा समस्याहुँदा र एलर्जी भएको अवस्थामा प्रयोग गरिने डेक्जामेथाजोन, दुखाई कमगर्ने, सुन्निएको, चिलाएको अवस्थामाप्रयोग गरिने हाइडोकोटिजन, मुटु र किड्नीको समस्या भएका बिरामीले प्रयोग गर्दै आइरहेको हेपारिन तत्काल उपलब्ध हुन सकेन भने बिरामीलाई थप समस्या हुने उहाँले बताउनुभयो ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको समयमा र जारी रहेको निषेध आदेशको कारणले गर्दा सङ्क्रमितको उपचारका लागि प्रयोग हुँदै आएका औषधि अभाव हुन थालेको समानान्तर मेडिकाल फर्माका सञ्चालक शिशिर पन्तले बताउनुभयो ।
पछिल्लो एक सातादेखि सिटामोल, डेक्सामथेजोन, हेपारिन, हाइडोकोटिजनलगाएतका औषधिको अभाव भइरहेको उहाँले बताउनुभयो ।
१ हजार ३५ जना सक्रिय सङ्क्रमित रहेको जिल्लामा अधिकाशं सङ्क्रमित होम आइसोलेशनमा रहेको र उनीहरुका लागि चिकित्सकले सिफारिस गरेको सिटामोल लगाएतका औषधि पुरै सकेको पन्तको भनाइ छ ।
कोभिड–१९ सङक्रमण नभएकाहरुले पनि हाल औषधि किनेर घरघरमा राखेकोले अभाव हुन थालेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र वि पोखरेलले बताउनुभयो ।
‘बिरामी नभएकाहरुले पनि औषधि किनेर घरघरमा राख्नुभएको छ ।,’ –उहाँले भन्नुभयो– ‘यसले गर्दा अस्पतालले बिरामीलाई सिफारिस गरेका औषधिहरु मेडिकलमा पाइन छोडेको छ ।’
यसअघि सिटामोलको स्थानमा निम्स, फेलेक्सन, ब्रोफिन लगायतका औषधि प्रयोग गरिए पनि अहिले सङ्क्रमितहरुलाई यी औषधि प्रयोग नगर्न डाक्टर पोखरेलले सुझाव दिनुभयो ।
स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहपछि मात्र औषधि सेवन गर्नुपर्ने उहाँको भनाइ छ ।
तर, जिल्लामा बढदो कोभिड–१९ सङ्क्रमणको अवस्था देखेर बिरामीले मात्र नभइ सर्वसाधारण सबैले औषधि किनेर राख्न थालेपछि वास्तविक बिरामीलाई औषधिको समस्या देखिन थालेको डाक्टर पोखरेलको भनाइ छ ।
‘औषधि पुरै सकिएको एक साताभन्दा बढी भइसक्यो, माथिबाट पठाउन आग्रह गरे पनि सबै तिर अभाव भएको कुरा आएको छ ।,’–धौलागिरीका होलसेल औषधि बिक्रेता समेत रहेका पन्तले भन्नुभयो,– ‘ट्रान्सपोट समेत बन्द हुँदा औषधि आयातमा थप समस्या भइरहेको छ ।’
स्वास्थ्य संस्थामा अक्सिजनको अभाव र औषधि पसलहरुमा समेत औषधि अभाव हुन थालेपछि जोखिम थप बढने एच ए क्षेत्रीको भनाइ छ ।
सो बारेमा कुरा गर्दा औषधि अभाव हुन नदिन आवश्यक पहल र समन्वय भइरहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
‘अहिले नै शुन्य भएको अवस्था होइन, तर सिटामोल लगायतका औषधिको माग अधिक छ ।,’– उहाँले भन्नुभयो–‘अधिकांश सङ्क्रमितले यसको प्रयोग गर्ने र सङ्क्रमित नभएका परिवारले पनि घरमा सञ्चित गर्ने अवस्थाले केही अभावको सङ्केत देखिएको छ , हामीले सम्बन्धित स्वास्थ्यचौकी र बिक्रेतासँग समन्वय गरेर छिट्टै ल्याउँछौ ।’