स्वास्थ्यकर्मीसँगको सम्झौता मिति वैशाख ३० गते समाप्त भएपछि जिल्ला अस्पतालबाट शल्यक्रियामार्फत प्रवाह हुने प्रसूति सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
अस्पताल प्रशासनले डा.राजन घिमिरेसँगको सम्झौता मिति वैशाख ३० गते समाप्त भएपछि शल्यक्रियामार्फतको प्रसूति सेवा बन्द गरेको अस्पतालका प्रमुख डा.सोनिङ लामाले बताउनु भयो ।
शल्यक्रियामार्फतको विशेषज्ञ चिकित्सक नभएपछि सेवाग्राहीलाई पाँचथर जिल्ला अस्पतालमा रेफर गर्ने गरिएको डा.लामाले बताउनु भयो ।
प्रसव पीडा लम्बिदै गएर बच्चा र आमा दुवैको जीवन नै जोखिममा रहेको अवस्थामा अप्रेशन(शल्यक्रिया) गर्नुपर्ने बेला बिरामीलाई रेफर गर्नुपर्दा जोखिम बढ्दै जाने डा.लामाले बताउनुभयो ।
जिल्ला अस्पतालमा सेवा लिन दुर्गमबाट आएकाहरूलाई चिकित्सक नभएपछि अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको डा.लामाले बताउनु भयो ।
शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक अभाव भएको विषयमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, प्रदेश १ सरकारका आर्थिक मामिला मन्त्री टङ्क आङवुहाङ, प्रदेश सांसद बलबहादुर साम्सोहाङ, होमकुमारी साँवालगायतलाई जानकारी गराएपनि समस्याको सम्बोधन हुन नसकेको अस्पतालका डा. लामाले बताउनु भयो ।
चिकित्सक अभावमा शल्यक्रियामार्फतको प्रसूति सेवा बन्द भएको विषयमा आफू जानकार भएर समस्या समाधानका लागि प्रयास गरीरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतमले अस्पतालमा यो बेला प्रसूति सेवा अझ व्यवस्थित हुनुपर्नेमा दक्ष स्वास्थ्यकर्मी अभाव हुनुमा राज्य गैरजिम्मेवार बनेको बताउनुभयो । उहाँले निषेध आदेश जारी भएको समयमा दुखले अस्पताल आउनुपर्छ । तर सेवा उपभोग गर्न नपाउनु भनेको स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको बताउनु भयो ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन परिच्छेद–३ को ६ (१) मा प्रसूति सेवा प्रदान गर्ने सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले प्रसूती सेवा प्रदान गर्नका लागि दक्ष स्वास्थ्यकर्मी वा सो नभए प्रसूतिकर्मी वा अन्य तालिमप्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।
नेपालको संविधान २०७२ ले धारा ३५ को स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सो धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक सेवाबाट वञ्चित गरिने छैन भनि उल्लेख गरिएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७६-७७ मा १ सय ३५ जनाको शल्यक्रिबाट प्रसूति गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत हेमराज कठायतका अनुसार जिल्लाभरिमा १ हजार ४ सय ३७ जना प्रसूति भएकामध्ये १ सय ३५ जनाको शल्यक्रियाबाट सेवा प्रदान गरिएको छ ।