INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधि र प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाका ५० वर्षीय आइतवीर कुलुङ, ४२ वर्षीय रामचन्द्र कुलुङ र ४५ वर्षीय देवेन्द्र कुलुङलाई मास्क नगाएको भन्दै वडाध्यक्ष र प्रहरीले जेठ २ कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

जिल्लामा कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि निषेध आदेश जारी भएको समयमा हिड्डुल  गरेको र मास्क नगाएको वडाध्यक्ष र प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

मास्क नलगाई किन हिँडेको भन्दै भोजपुरको साल्पासिलिच्छो गाउँपालिका–१ कुलुङस्थित प्रहरी चौकीमा कार्यरत असई कुमार राई र वडाध्यक्ष गणेश बुढाथोकी सहितको टोलीले मान्तेवा प्रवेश गर्ने सङ्खुवाखोलाको दोभान पुलमा कुटपिट गरेको पीडित देवेन्द्र राईले बताउनु भयो ।

सङ्खुवासभा र भोजपुरको सिमानामा खटिएको प्रहरीसहितको टोलीले लठ्ठीले जथाभावी कुटपिट गरेको पीडित ४२ वर्षीय रामचन्द्र कुलुङको भनाइ छ ।

निषेध आदेशको नाममा प्रहरीले स्थानीयलाई सास्ती दिइरहेको रामचन्द्र कुलुङको भनाइ छ । प्रहरीले सडकमा हिड्ने मानिसहरूलाई विभिन्न बहाना बनाएर गाली गलौज तथा कुटपिट गरेको ५० वर्षीय आइतवीर कुलुङले बताउनु भयो ।

सल्लेरी दोभानमा मजदुरीको काम गरेर फर्किदै गर्दा असई राईसहितको टोलीले कुटपिट गरेको आइतवीरको भनाइ छ ।

दोभानमा (मान्तेवापट्टिको भूभाग) मा खाजा खाँदै गर्दा मास्क किन नलगाएको भन्दै हप्काएको र मास्क नखोली खान नसकिने आफुहरूले भनेपछि प्रहरीको टोली बाटो लागेको पीडित कुलुङले बताउनु भयो ।

खाजा खाइसकेर पुल तर्ने वित्तिकै प्रहरी टोलीले तीनै जनालाई अन्धाधुन्ध कुटपिट गर्न थालेको आइतवीर कुलुङले बताउनु भयो ।

बाटोमा हिँडी रहेको अवस्थामा तीन जना मजदुरलाई कुटपिट गरेको विरोधमा नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घले विज्ञप्ति जारी गरेर विरोध गरेको छ ।

विज्ञप्तिमार्फत सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

कुटपिटको विषयमा जानकारी लिन खोज्दा वडाध्यक्ष गणेश बुढाथोकीसँग फोन सम्पर्क हुन सकेन ।

इलाका प्रहरी कार्यालय भोजपुर दिङ्लाका इन्स्पेक्टर काशीराम थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा कुटपिटको विषयमा आफूलाई कहीँ कतैबाट जानकारी नआएको बताउनु भएको छ ।

अन्य

भिडियो