“विकास विरोधी गतिविधि सञ्चालन” भन्ने शीर्षकमा समाचार लेखिएको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भन्दै सुनसरीका दुई जना पत्रकारले वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका छन् ।
प्रदेश पाना अनलाइनमा कार्यरत भोक्राहा नरसिंह गाउँपालिका–७ का २८ वर्षीय पत्रकार दीपेन्द्रकुमार यादव र नागरिक अभियान डटकममा कार्यरत देवानगञ्ज गाउँपालिका–६ का २४ वर्षीय पत्रकार विवेक मेहताले समाचारको विषयलाई लिएर धम्की आएको भन्दै प्रशासनमा निवेदन दिनु भएको हो ।
वैशाख २७ गते प्रदेश पाना र नागरिक अभियान डटकममा समाचार लेखिएको विषयलाई लिएर ९८०२०९४३९३ नम्वरको मोवाइल फोनबाट ज्यान मार्ने धम्की आएको पीडित पत्रकारको भनाइ छ ।
भोक्राहा नरसिंह गाउँपालिका–६ का ३६ वर्षीय जमालउद्धिन मन्सुरीले विकास विरोधी गतिविधि गरेको विषयलाई लिएर आफूहरूले वैशाख २७ गते समाचार प्रकाशन गरेपछि मन्सुरले ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारको भनाइ छ ।
समाचारका विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भन्दै पीडित पत्रकारले वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।
लोकतन्त्रमा नागरिक वा पत्रकार कोही असुरक्षित नहुने भएकाले आवश्यक अनुसन्धान गरी कारबाहीको दायरमा ल्याउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।
घटनाका आरोपित जमालउद्धिन मन्सुरले आफूले पत्रकारलाई धम्की नदिएको बताउनु भएको छ ।