INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले मुद्दा फिर्ता लिएका १ सय २० जनामध्ये ९१ जना महोत्तरीका

सरकारले हालै मुद्दा फिर्ता गरिएकामध्ये ९१ जना महोत्तरीका व्यक्ति रहेका छन् । महोत्तरीका ९१ जनामाथि आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आगजानी गरेको मुद्दा लागेको थियो ।

वैशाख ३ गते महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको संयोजकत्वमा बसेको बैठकले १ सय ६८ जनाको नाम मुद्दा फिर्ताका लागि सिफारिस गरेको थियो । मुद्दा फिर्ता लिइएका महोत्तरीका अधिकांश व्यक्ति आगजनी घटनाका आरोपित हुन् ।

मुद्दा फिर्ता लिइएका महोत्तरीको साविक इटहर्वाकट्टी–७ का कृष्णदेव शर्मालगायत १२ जनामाथि आगजनी र लुटपाटमा संलग्न रहेको आरोप छ ।

जिल्ला सरकारी वकिल कार्यालयको अभिलेख अनुसार शर्मालगायत १२ जनाको समूहले सरकारी कार्यालयमा आगजनी र लुटपाटसमेत गरेको मुद्दा ०७५ चैत १२ गते मुल्तबीमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले प्रदेशका मन्त्री, सांसद र मेयरको पनि मुद्दा फिर्ता लिन नाम सिफारिस गरेको थियो ।

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मामाथि मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका हवल्दार थमन बिकको हत्या आरोपमा मुद्दा चलिरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले राज्यमन्त्री शर्माको मुद्दा पनि फिर्ता गर्न सरकारलाई सिफारिस गरेको थियो । तर, शर्माको मुद्दा फिर्ता भएको छैन ।

बिक हत्या प्रकरणमै मुछिएका प्रदेश सांसद कौशल यादवको मुद्दा फिर्ता लिन पनि सिफारिस गरिएको थियो ।

महोत्तरी, जलेश्वरका मेयर रामशङ्कर मिश्र पनि बिक हत्या घटनामा संलग्न रहेको आरोप लाग्दै आएको छ । उहाँसहित २८ जनाको मुद्दा फिर्ता लिन सिफारिस गरिएको थियो तर कसैको मुद्दा फिर्ता भएको छैन ।

Mudda Phirta_120_madhesi (3)

Mudda Phirta_120_madhesi (2)

Mudda Phirta_120_madhesi (1)

अन्य

भिडियो