स्थानीय सरकारलाई अत्यावश्यक बाहेक अन्य भौतिक निर्माणका कामलाई रोक लगाएर भौतिक पूर्वाधार सुधार गर्ने, क्वारेन्टाइन र होल्डिङ सेण्टर निर्माणका लागि केन्द्रित हुन नागरिक सङ्घसंस्थाहरूले अपिल गरेका छन् ।
वैशाख २३ गते गैरसरकारी संस्था महासङ्घ नेपाल, नेपाल पत्रकार महासङ्घ, इन्सेकलगायत ३७ ओटा नागरिक सङ्घसङ्गठनले सो लगायत २६ बुँदे अपिल जारी गरेका हुन् ।
‘यस्तो विषम परिस्थितिलाई आंकलन गर्दै नागरिक समाज तथा सङ्घ-सङ्गठनहरूले वैशाख १८ गते संयुक्त बैठक आयोजना गरी कोभिड-१९ महामारी नियन्त्रणका लागि नेपाल सरकारसँग प्रभावकारी सहकार्य गर्ने, अत्यावश्यक स्वास्थ्य सामग्रीहरु जस्तै अक्सिजन सिलिन्डर, मास्क, अक्सोमिटर, सेनिटाइजर, एम्बुलेन्स र प्लाज्मा रगत लगायतको अभाव हुन नदिन आर्थिक, प्राविधिक, मानवीय र अरु सबै खालका सहायता जुटाउन पहल गर्ने, देशभर सचेतना अभियान सञ्चालन गर्ने र स्थानीय सरकार, जिल्लास्थित सुरक्षाकर्मीहरु, पत्रकार लगायत विभिन्न पक्षसँगको सहकार्यमा आवश्यक मानवीय कार्यलाई निरन्तरता दिन नागरिक समाज र सङ्घ-सङ्गठनहरु प्रतिबद्ध रहने निर्णय गरिएको छ ।‘-अपिलमा भनिएको छ ।
अपिलमा हरेक नागरिकको जीवन र स्वास्थ्य राज्यको जिम्मेवारी भएकोले यस विषम परिस्थितिसँग लड्नका लागि राज्यका सबै संयन्त्रहरुको सम्पूर्ण श्रोत र साधन जुटाउन र प्रयोग गर्न माग गरिएको छ ।
जनताको जीउज्यानको सुरक्षाको सवाल रहेकोले युध्दस्तरमा कार्य गरी जनताको स्वास्थ्य र बाँच्न पाउने अधिकारको संरक्षण गर्नसमेत उनीहरूको माग छ ।