INSEC Online

📅 २०८३ जेष्ठ २३

‘सार्वजनिक सम्पतिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ प्रेस स्वतन्त्रता दिवस मनाइँदै

‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । दिवसका अवसरमा यो साता नै विविध कार्यक्रम गरी मनाइँदै छ ।

‘स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ लाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिएको हो ।

यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड सङ्क्रमणका कारण सार्वजनिक कार्यक्रम नराखिएको बताउनुभयो ।

उहाँले दिवसका अवसर पारेर नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक गर्ने र नेपालका विभिन्न तहमा बन्न थालेका नौ ओटा कानुनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणी समेत सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरूको सबैभन्दा ठूलो छाता सङ्गठन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)सँग आबद्ध दक्षिण एशियाका पत्रकार सम्मिलित सङ्गठनहरूको सञ्जाल (साउथ एशियन मिडिया नेटवर्क)ले वैशाख २० गते नै दक्षिण एशियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले एक विज्ञप्ति जारी गरी देशभरी कोभिड महामारीको समयमा पेसागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरूको सङ्ख्या ५ सय १७ रहेको जानकारी दिनुभयो ।

यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई कोभिडको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

पत्रकार महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यो वर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र तीन ओटा सञ्चार संस्था पीडित बनेका छन् । ५ सय ८४ पत्रकारमध्ये ७७ जना महिला पत्रकार रहेका छन् ।

पत्रकार महासङ्घको अभिलेखअनुसार यो वर्ष ६ जना पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट चार जना पत्रकार पीडित भएका छन् ।

त्यसैगरी आक्रमणबाट ४८ र दुर्व्यवहार तथा धम्कीबाट १२ जना पत्रकार पीडित भएका छन् भने ५ सय १७ जना पत्रकारहरू विस्थापनमा परेका छन् ।

अन्य

भिडियो