सरकारले मधेस आन्दोलनका क्रममा मुद्दा चलाइएका १ सय २० जनाको मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनु भएको छ ।
मन्त्रिपरिषद्को बैठकले जनता समाजवादी पार्टीसँगको वार्तापछि १ सय २० जनाविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनु भएको हो ।
सरकारले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको सहमतिअनुसार मधेस आन्दोलनका क्रममा सरकारले फौजदारी मुद्दा चलाएका उनीहरूको मुद्दा फिर्ता लिएको हो ।
नेपाल सरकार वादी भई चलाएका मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका, २०७७ अनुसार मुद्दा फिर्ता लिइएको मन्त्री गुरुङको भनाइ छ । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताविरुद्धका मुद्दा पनि फिर्ता हुने चरणमा रहेको बताउनु भएको छ ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भन्नु भयो-‘अरु मुद्दाहरूलाई पनि क्रमशः कानुनी हिसाबले फिर्ता लिने क्रममा छौँ ।’
