१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–७ का २४ वर्षीय विनोद सापकोटालाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश दिलकुमार बर्देवाको वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले बताउनु भयो ।पीडित बालिकालाई आरोपितले ०७७ भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ७ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले भदौ ७ गते गिरफ्तार गरी जिल्ला अदालतमा भदौ २१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको भदौ २१ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा भदौ ७ गते गरिएको थियो ।