उज्यालो नेटवर्क डटकम अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको छ । पत्रकारद्वयलाई समाचार प्रकाशन गरेकै कारण गिरफ्तार गरिएको पत्रकार महासङ्घका केन्द्रीय सदस्य सन्तराम विडारीले जानकारी दिनुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धारा र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कको कार्यालयबाट गिरफ्तार गरको थियो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
जिल्ला अदालत काठमाडौबाट पक्राउ अनुमति लिएर उनीहरूलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताउनुभयो । एसपी बस्नेतले गिरफ्तार गरिएकाहरूमाथि साइवर अपराध, किर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा अनुसन्धान हुने जानकारी दिनुभयो ।
केही दिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन गरेको थियो । सो सामग्री भ्रामक र तथ्यहीन पाइएको भन्दै नेपाल प्रेस काउन्सिलले स्पष्टिकरण सोधेपछि सो अनलाइनले गल्ती स्वीकार गर्दै सो सामग्री हटाउनुका साथै माफी मागेको थियो ।
यसै विषयमा पाटन उच्च अदालतमा परेको निवेदनमा अदालतले वैशाख १० गते सुनुवाई गर्दै सो समाचारकै आधारमा कसैलाई गिरफ्तार नगर्न अन्तरिम आदेश गरेको थियो ।
यसैबीच नेपाल पत्रकार महासङ्घले पनि वैशाख १२ गते नै एक प्रेस विज्ञप्ति प्रकाशन गरी पत्रकार गिरफ्तार भएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको अवश्थामा पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संबैधानीक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ ।