भिमाद नगरपालिका–८ निवासी ४२ वर्षीय चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष ६१ वर्षीय बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनुभएको छ ।
पीडितलाई आरोपितले ०७८ वैशाख ९ गते वडा कार्यालय नजिकै नवदुर्गा टोलमा दुर्व्यवहार गर्दै कुटपिट समेत गरेको पीडितले वडाध्यक्ष माथि आरोप लगाउनुभएको छ ।
हकवालाको सिफारिस लिन वडा अध्यक्ष भएको ठाउँमा जाँदा वडा अध्यक्ष श्रेष्ठले अन्य कुरा निकालेर सिफारिसमा हस्ताक्षर गर्न नमानेको र आफैले निहुँ खोजेर हातपात र दुर्व्यवहार गरेको पीडितले बताउनुभयो ।
पीडित खनालको नाउँमा जग्गाधनी पुर्जा रहेको जग्गामा बसोबास गर्दै आएकी एकल महिलालाई पुननिर्माण प्राधिकरण मार्फत नीजि आवास निर्माणकोलागि खनालले सहयोग नगरेको र ती महिलालाई घर बनाउन सहयोग गरे मात्र सिफारिसमा हस्ताक्षर गर्ने अडान वडा अध्यक्ष श्रेष्ठले राख्नु भएको थियो ।
सोही विवाद बढ्दै गएपछि श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको खनालले बताउनुभयो ।
‘अहिले मलाई हतार छ, यो बारेमा पछि छलफल गरौंला, सिफारिसमा हस्ताक्षर गर्नुस् भनेर वडा अध्यक्षलाई भनेको थिए ।’– खनालले भन्नुभयो– ‘तर अध्यक्षले ती महिलाको बारेमा टुंगो नलागेसम्म हस्ताक्षर गर्दिन भन्नुभयो, त्यसैको निहुँमा विवाद भयो ।’
सो विषयमा कुरा गर्दा वडाध्यक्ष श्रेष्ठले ती एकल महिलालाई घर बनाउन नदिएर बिचल्लीमा पारेको विषयमा छलफल गर्दा गर्दै एक्कासी खनालले आफूलाई ढुङ्गा प्रहार गर्न खोजेको बताउनु भयो ।
वडाध्यक्षले अन्यायमा परेको महिलालाई न्याय दिन खोज्दा भु–माफियाहरुले आफूमाथी आक्रमण गरेको र आफूले प्रतिकार गरेको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।
पीडितले आरोपितविरुद्ध भिमाद नगरपालिकाको कार्यालयमा घटनाको दोषीलाई कारवाही गर्न माग गर्दै वैशाख ९ गते उजुरी दिएका छन् ।
सो उजुरी उपर कुरा गर्दै भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले घटनाको छानबिन गरी दोषीलाई कानुन दायरामा ल्याइने जानकारी दिनुभएको छ ।