जिल्लाका अधिकांश स्थानीय तहमा लैङ्गिक हिंसा कोषको स्थापन नगरिएका कारण हिंसामा परेका महिलाहरुलाई समस्या भएको छ ।
लैङ्गिक हिंसामा परेका पीडित तथा प्रभावितहरुको तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि कोष निर्माण गर्न महिला तथा बालबालिका मन्त्रलायले ०७६ माघ १२ गते सबै स्थानीय तहमा पत्र पठाएको भएपनि स्थानीय तहले कोषको स्थापन नगरेका कारण हिंसामा परेका महिलाहरुलाई समस्या भएको हो ।
जिल्लाका साँफेबगर नगरपालिका र चौरपाटी, मेल्लेख, ढकारी, तुर्माखाँद गाउँपालिकाले हालसम्म कार्यविधि तयार गरेर कोष स्थापना गरेका छैनन् ।
कोष निर्माण नहुँदा लैङ्गिक हिंसामा परेमा महिलाले तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सहयोग नपाएको गुनासो गरेका छन् ।
ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउदले कोष स्थापनाका लागि कार्यविधि तयार नभएका कारण हिंसामा परेका महिलाहरुलाई तत्काल सहयोग गर्न नसकिएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कोष स्थानपन गर्न नसक्दा लैङ्गिक हिंसा निवारण कोष अनुसार आर्थिक सहयोग स्थानीय तहले गर्न सकेको छैन् । यसका लागि प्रयास जारी रहेको छ ।’
साँफेबगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक बिर्मलादेवी बुडथापाले पीडित महिलाहरुलाई अन्य शिर्षकबाट सहयोग भइरहेको भएपनि हिंसा निवारण कोष खाता कस्को नाममा सञ्चालन गर्ने भन्ने अन्यौलका कारण स्थापना हुन नसकेको बताउनु भयो ।
मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले लैङ्गिक हिंसामा परेका पीडित तथा प्रभावितको सहयोगको लागि कोष स्थापना नभइसकेकोले यसको स्थापनका लागि छलफल तथा पहल भइरहेको बताउनु भयो ।
लैङ्गिक हिंसा सहायता कोष निर्माण गरेर चार जना पीडित महिलालाई आर्थिक र जीविकोपार्जनमा सहयोग गरिएको पञ्चदेवल विनायक नगरपालिका महिला शाखामा कार्यरत भावना शर्माले बताउनु भयो ।
रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले कोषको स्थापना नभएको भएपनि तत्काल खाता खोल्ने प्रक्रियामा रहेको बताउनु भयो ।
मंगलसेन नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक सरिता उपाध्यायले लैङ्गिक हिंसा सहायता कोषको कार्यविधि कार्यान्वयनमा रहेको भनाइ छ ।
संघीय सरकारले आधा साझेदारी रहने गरेर प्रत्येक स्थानीय तहमा कोष स्थापना गर्नका लागि प्रत्येक स्थानीय तहलाई १ लाख रुपियाँ समेत पठाइसकेको भएपनि हालसम्म कोष स्थापना तथा सञ्चालन हुन सकेको छैन् ।
मंगलसेन, कमलबजार, पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाले भने लैङ्गिक हिंसा पीडित महिलाहरुलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरी सञ्चालनमा रहेको जनाएका छन् ।