INSEC Online

📅 २०८३ जेष्ठ २१

शुद्ध खानेपानीबाट वन्चित रहेको स्थानीयको गुनासो

नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको भएपनि बोगटान फुडशिल  गाउँपालिका–६ गगुडाका १ सय २० परिवारले शुद्ध खानेपानीबाट वन्चित हुँदै आएको गुनासो गरेका छन् ।

चन्द जातीको बाहुल्यता रहेको गगुडा गाउँमा वर्षौदेखि खानेपानीको समस्या रहेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

गाउँ नजिकै पानीको मुहान नभएका कारण वर्षौदेखि खानेपानीको समस्या झेल्नु परेको  स्थानीय मिनबहादुर चन्दले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘शुद्ध पिउने पानी नभएका कारण वर्खायाममा पेट दुख्ने लगायतका स्वास्थ्य सम्बन्धि समस्या झेल्नु परेको छ ।’

गाउँ वरिपरि पानीका स्रोत नभएको कारण लुगा धुन समेत दुई घण्टाको दुरीमा रहेको पतेली खोला जानु पर्ने र खानेपानी समेत बोकेर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय डिल चन्दले दुखेसो पोख्नु भयो  ।

लुगा कपडा धुन दुई घण्टाको पैदल यात्रा गरेर बिहान ४ बजे नै खोलामा पुग्नु पर्ने बाध्यता रहेको स्थानीय ३० वर्षीया कलावति चन्दले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘रातिको समयमा आवतजावत गर्न डर लाग्छ । बाटोमा कहिलेकाही बाघभालु पनी देखिने गरेकोले पानीकै कारण ज्यान समेत जोखिममा राख्नु पर्ने अवस्था छ ।’

सरोकारवाला निकायसँग खानेपानीको समस्या समाधान गर्न निरन्तर प्रयास तथा अनुरोध गरिदै आएको भएपनि कसैले वास्ता नगरेको स्थानीय शंकर बिकले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँपालिका र वडा कार्यालयका प्रतिनिधीलाई पटकपटक अनुरोध गरेका छौँ । समस्या समाधान गर्ने मात्रै आश्वासन पाएका छौँ । तर, समस्या समाधान भएको छैन् ।’

स्थानीय ५० वर्षीय गोरख चन्दले  खानेपानीको समस्या गाउँमा मात्रै नभएर झण्डै ६ सय विद्यार्थी भएको मष्टेश्वर माविमा समेत समस्या हुँदा महिनावारी भएको समयमा छात्राहरु विद्यालय जानबाट बन्चित भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘बगर टोलमा रहेको खानेपानीले स्वास्थ्य चौकी र बजार क्षेत्रको माग धान्दैन् । गाउँघरमा खानेपानीको आँहाकार मचिएको छ ।’

बोगटान गाउँपालिका–५ का वडाध्यक्ष बिरेन्द चन्दले गाउँमा रहेको खानेपानीको समस्यालाई समाधान गर्न  संघीय सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेका कारण छिट्टै समस्या समाधान हुने बताउनु भयो ।

उहाँले भन्नु भयो– ग्रामिण जलस्रोत बिकास कार्यालय, डडेल्धुरा र गाउँपालिकाबीच खानेपानीको समस्या समाधान गर्ने सहमति भइसकेकोले समस्या समाधान हुन्छ ।’

बेगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडशिलाले गगुडा लगायतका गाउँहरुमा रहेको खानेपानीको समस्या समाधान गर्नको लागि ४० प्रतिशत रकम गाउँपालिकाले र ६० प्रतिशत ग्रामीण जल स्रोत बिकास कार्यालयले लगानी गरेर समस्या समाधान गर्ने योजना रहेको बताउनु भयो ।

अन्य

भिडियो