INSEC Online

📅 २०८३ जेष्ठ २१

म्यानमारमा मानवअधिकारको सम्मान गर्न आग्रह गर्दै अधिकारकर्मीको प्रदर्शन

म्यानमारमा भएको सैनिक कु विरुद्ध प्रजातान्त्रिक व्यबस्थाको पुर्बहाली र मानवअधिकार रक्षाको लागि आह्वान गर्दै पोखरामा शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा चैत १६ गते प्रर्दशन गरिएको छ ।

पोखरा स्थित शहिदचोकमा दिउँसो ३ बजेदखि ४ बजेसम्म सञ्जालमा आबद्ध रहेका विभिन्न नागरिक सङ्घ सङ्गठनले प्ले कार्ड सहित प्रर्दशन गरेका थिए ।

कार्यक्रममा बोल्दै शान्तिका लागि नागरिक समाजको सञ्जाल संयोजक विष्णु वरालले मानवअधिकारको सामान्य मुल्यमान्यतालाई समेत ख्याल नगरी जनता माथि गरिएको दमनविरुद्ध अन्तराष्ट्रिय रुपमा आवाज उठ्नुपर्ने बताउनुभयो ।

photo20210330kaski

एम्नेष्टी इन्टरनेशनलका गण्डकी संयोजक रमेश प्रसाद बरालले म्यानमारमा भएको सैनिक दमनविरुद्ध म्यानमारी नागरिकको मानवअधिकारका पक्षमा सबैले आवाज उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

महिला  मानवअधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष इन्द्रकुमारी शर्माले सैनिकबाट जनता माथि गरिएको दमन कुनैपनि हिसाबले स्विकार गर्न नसकिने बताउनुभयो ।

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले म्यानमारमा भएको सैनिक कु विरुद्ध प्रजातन्त्रको पुर्नस्थापना र मानवअधिकार रक्षाको लागि सबै एकताबद्ध हुन आग्रह गर्नुभयो ।

म्यानमारमा प्रजातन्त्रको पुर्नस्थापना गर, मानवअधिकारको सम्मान गर, नरसंहार बन्द गर, मानवअधिकारको रक्षा गर जस्ता नारा लेखिएका प्ले कार्ड सहित शान्तिकालागि नागरिक समाजमा आबद्ध इन्सेक, कोपिला नेपाल, चिल्ड्रेन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, इम्नेष्टी इण्टरनेशनल, गोनेशा, सिविन र गैरसरकारी संस्था महासंघ कास्की लगाएत विभिन्न संस्थाको प्रर्दशनमा सहभागिता रहेको थियो ।

अन्य

भिडियो