दार्चुलाका ग्रामीण स्वास्थ्य संस्थाहरूमा सामान्य रोगका लागि आवश्यक औषधिसमेत अभाव भएको छ । जिल्ला अस्पताल दार्चुलाले दुई दिनअघि पत्रकार सम्मेलन गरी जिल्लाभरी औषधि पर्याप्त रहेको बताएको थियो ।
शङ्करपुर स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन । शङ्करपुर स्वास्थ्य चौकीका इञ्चार्ज गुणराज ओझाका अनुसार अहिले प्रति व्यक्ति दुई ट्याब्लेट मात्रै दिएर पठाउने गरिएको छ । स्वास्थ्य चौकीले दुई दिन अघि मात्र दुई डिब्बा सिटामोल जिल्ला अस्पतालबाट ल्याइएको भएपनि अहिले सो औषधि सकिन लागेको जनायो । ‘बिरामी बढी आए भने सिटामोल दिन समेत छैन ।’-उनले भने-‘हामीसँग एन्टीबायोटिक औषधिसमेत छैन ।’
शङ्करपुर-२ का विनोदसिंह धामीले स्वास्थ्य चौकीमा आएपछि ज्वरोकोसमेत औषधि नपाएको बताए । ‘तीन चार दिनदेखि आउने बिरामीले औषधि पाउन सकेका छैनन् ।’-उनले भने । सडक पहुँचसँग जोडिएका कारण बिरामीहरू सदरमुकामस्थित जिल्ला अस्पताल गएर औषधि उपचार गर्नुपरेको छ ।
औषधिको लागि जिल्ला स्वास्थ्य कार्यालयसँग माग गरिएपनि अझै औषधि पुगेको छैन । ‘जिल्ला अस्पतालले औषधि केही दिनमा पठाउने तयारी गरेको जानकारी प्राप्त भएको छ ।’-ओझाले भने । डाँडाकोट खरकडा, हुनैनाथलगायतका स्वास्थ्य संस्थाहरूमासमेत सामान्य औषधि नपुगेको स्वास्थ्यकर्मीहरूले बताए ।
नयाँ टेण्डर भएको औषधि जिल्ला अस्पतालमा पुगेपनि ग्रामीण भेगमा ढुवानी नहूँदा औषधि अभाव देखिएको हो ।