म्यानमारमा माघ १९ गते गरिएको ‘कू’ मानवता र मानव अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै अधिकारकर्मीहरूले आलोचना गरेका छन् ।
कू का कारण आङ्ग साङ सू की र देशका अन्य प्रजातान्त्रिक तवरले चुनिएका नेताहरूलाई गिरफ्तार गरियो। सु की, राष्ट्रपति विन माइन्ट र नेश्नल लीग फर डेमोक्रेसी (एनएलडी) का अन्य नेताहरूलाई श्रृङ्खलाबद्ध रुपमा छापा मारेर हिरासतमा लिइयो ।
कू पछि प्रजातन्त्रका लागि शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिकहरूलाई यहाँका सैनिकले हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
एएपीपीका अनुसार चैत ४ गतेसम्म सेनाले २ सय १७ जना मारेको छ जसमध्ये ३८ जनाको पहिचान खुलेको छैन ।
पत्रकार, अभियानकर्ता, प्रदर्शनकारी, ट्रेड युनियन, लेखक, विद्यार्थी र सर्वसाधारण लगायत २ हजार १ सयभन्दा बढीलाई सेनाले गिरफ्तार गरिसकेको छ ।
सेनाले मिडियाको इजाजतपत्र निलम्बन गरी पत्रकारहरूलाई गिरफ्तार गरेको छ । म्यानमारकी एक मानव अधिकार रक्षकले नाम नबताउने गरी इन्सेक अनलाइनसँग कुरा गर्दै उनीहरूलाई विभिन्न किसिमको खतरा बताउँदै त्रासदी वातावरण रहेको उल्लेख गरिन् ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार सेनाले शान्तिपूर्ण प्रदर्शनकारी र यात्रीहरुविरुद्ध युद्धको मैदानमा देखिने घातक हतियारहरू प्रयोग गरिरहेको छ ।
म्यानमारमा मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष टोलीका टोम एन्ड्रयूजका अनुसार शान्तिपूर्ण प्रदर्शनका लागि सेनाको “क्रूर प्रतिक्रिया” ले सम्भवतः मानवता विरुद्धको अपराधको कानुनी सीमालाई पूरा गरिरहेको छ।
३१ देशका १ सय ३७ गैरसरकारी संस्थाहरूको समूहले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई म्यानमारमा तत्काल विश्वव्यापी हतियार प्रतिबन्ध लगाउन आग्रह गरेको छ।
एजेन्सीहरूको सहयोगमा