बाजुरा जिल्लाको पुर्वी उत्तरी क्षेत्रका चार स्थानीय तह तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तहका स्थानीयहरुलाई सेवा दिदै आएको कोल्टी प्राथमिक सेवा केन्द्र, कोल्टीमा आकस्मिक प्रसूति सेवा नहुँदा सो क्षेत्रका स्थानीयहरुलाई समस्या भएको छ ।
हिमाली गाउँपालिका–१ की २७ वर्षीया पन्चकला रोकायालाई सुत्केरी बेथा लागेपछि आफन्तले फागुन १६ गते रुगीन स्वास्थ्य चौकी पुर्याएका थिए । स्वास्थ्य चौकीमा सुत्केरी गराउन प्रयास गरेता पनि सम्भव नभएपछि फागुन १७ गते कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा रिफर गरिएको थियो ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूतिका लागि पुर्याइएको भएपनि प्रसूति सेवा नपाएपछि जिल्ला अस्पताल, बाजुरा पुर्याउनु परेको उहाँका पति बिक्रम रोकायाले दुखेसो पोख्नु भयो ।
कोल्टी प्रथामिक स्वास्थ्य, केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा दिने चिकित्सक नहुँदा जिल्ला अस्पताल रिफर गर्नु परेको बताउनु भयो।
उहाँले भन्नु भयो– ‘पाठेघरमा पानीको मात्र कम थियो । अप्रेसन मार्फत प्रसूति गराउनु पर्ने अबस्था भएकोले रिफर गरिएको हो ।’
हिमाली गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीले गर्भवतीलाई रिफरपछि हेलि उद्धारका लागि जिल्ला प्रशासन कार्यलय, बाजुरामा पत्राचार गरेको भएपनि हेलि उद्धारमा ढिलाई भएपछि आफन्तहरुले स्टेचरमा बोकेर पन्चकलालाई जिल्ला अस्पताल लगेको बताउनु भयो ।
गएको साउन महिनामा समयमै प्रसूति सेवा नपाएका कारण आफूले मृत अवस्थामा बच्चा जन्माउनु परेको हिमाली गाउँपालिका–३ यूनाकी २२ वर्षीया लालसरी बुढाले दुखेसो पोख्नु भयो ।
तीन दिनसम्म बिच्छाया स्वास्थ्य चौकीमा सुत्केरी गराउने प्रयास गरिएको भएपनि स्वास्थ्य चौकीमा उपलब्ध जनशक्तिले असम्भब भएपछि चार दिनपछि आफूले मृत शिशुको जन्म दिएको र २४ घण्टापछि मात्रै आफ्नो होस आएको दुखेसो सुनाउनु भयो ।
हिमाली गाउँपालिका– ३ युना सदरमुकामबाट पाँच दिनको पैदाल दुरीमा पर्दछ ।
गत पुस महिनामा स्थानीय स्तरमा सञ्चालनमा रहेको स्वास्थ्य चौकीहरुमा प्रभावकारी प्रसूति सेवा नभएकै कारण आफूले गत पुस महिनामा मृत अवस्थामा बच्चा जन्माउनु परेको हिमाली गाउँपालिका–५ रुगीनकी ३४ वर्षीया झलकला भण्डारीले दुखेसो पोख्नु भयो ।
सुत्केरी बेथा लागेपछि रुगीन स्वास्थ्य चौकी पुगेको र रुगिन स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र हुँदै जिल्ला अस्पताल, बाजुरा सम्म पुग्न आफूलाई तीन दिन लागेको कारण आफ्नो पेटको बच्चको मृत्यु भएको उहाँले बताउनु भयो ।
स्थानीय स्तरमा भएका स्वास्थ्य चौकीहरुमा प्रसूति सेवा नभएका कारण जिल्ला अस्पतालसम्म लैजानु पर्ने तर जिल्ला अस्पताल लैजानका लागि साधनको व्यवस्था सरकारबाट नगरि दिएका कारण आफूले बच्चा गुमाउनु परेको झलकलाका पति लोके भण्डारीले दुखेसो पोख्नु भयो ।
गत असोज महिनामा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव हुँदा बुढीनन्दाकी २३ वर्षीया अम्बकला रोकायाको मृत्यु समेत भएको थियो ।
कर्णाली बिज्ञान प्रतिष्ठान, जुम्ला, बुढिनन्दा नगरपालिका र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबीच आकस्मिक प्रसूति सेवा नियमति गर्ने सम्बन्धमा सम्झौता भई कर्णाली बिज्ञान प्रतिष्ठानाबाट चिकित्सकहरुलाई ल्याइएको भएपनि चिकित्सकहरु एक हप्ता नबित्दै फिर्ता भएपछि प्रसूति सेवा सञ्चालनमा समस्या भएको जनस्वास्थ्य निरीक्षक आमेजंग शाहीले बताउनु भयो ।
कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा कालीकोट, हुम्ला र मुगु जिल्लाबाट पनि प्रसूति सेवाका लागि आउने गरेको भएपनि स्वास्थ्य केन्द्रमा आपतकालिन सेवा दिन नसकेका कारण सदरमुकाम वा अन्य जिल्लामा रिफर गर्नु पर्ने बाध्यता रहेको स्वास्थ्य केन्द्रका प्रमुख राजुराज जैशीले बताउनु भयो ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दैनिक दुई/तीन जना प्रसूति सेवाका लागि आउने गरेको र स्वास्थ्यमा जटिलता देखिएका पाँच/सात जनालाई दैनिक रुपमा बाहिर पठाउने गरिएको जैशीको भनाइ छ ।
बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले आकस्मिक प्रसूति सेवाका लागि एनएसथेसिया र दक्ष चिकित्कसहरुको अभावमा स्थानीयहरुलाई प्रभावकारी सेवा दिन नसकिएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कर्णाली बिज्ञान प्रतिष्ठानसँगको टेक्नीकल सपोर्ट मात्रै मागिएको हो । संघीय सरकारकै कार्यक्रम र नगरपालिकाको बजेटबाट ६ महिनासम्म डाक्टरहरुलाई पनि राखियो । तर, एनएसथेसिया नभएका कारण प्रसूति सेवा सुचारु हुन सकेन ।’
स्वास्थ्य केन्द्रमा प्रसूति गराउने सुविधा नभएका कारण प्रसूति सेवा लिनका लागि यस क्षेत्रका स्थानीयहरुलाई जिल्ला सदरमुकाम, नेपालगञ्ज र धनगढी पुर्याउनु पर्ने बाध्यता रहेको छ ।
