नेपाल सरकार २०६८ जेठ २१ गते जातीय विभेद मुक्त राष्ट्रका रूपमा घोषणा गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन ।
समाजमा अहिले पनि जातीय विभेदका घटना हुने गरेका छन् । तर जातीय विभेद तथा छुवाछूत उन्मुलनका लागि धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा फागुन २६ गते सचेतनामूलक सहभोज कार्यक्रम गरिएको छ ।
महालक्ष्मी नगरपालिकाको सहयोगमा सामाजिक विकास सरोकार केन्द्र धनकुटाले दलित र गैरदलितबिच सामूहिक भोज कार्यक्रम गरेको हो ।
कार्यक्रममा दलित र गैरदलित समूदायका १ सय ५० भन्दा बढी व्यक्तिहरु सहभागी थिए । उनीहरूले छुवाछुत प्रथा तोड्दै सामूहिक रूपमा भोज खाएर छुवाछूतविरूद्ध सचेतनामूलक कार्यक्रम गरेका हुन् ।
छुवाछुत प्रथा अन्त्यका लागि दलित र गैरदलितबिच सहभोजको आयोजना गरिएको सामाजिक विकास सरोकार केन्द्रका सचिव नैन विश्वकर्माले बताउनु भयो ।
सामूहिक भोज गरिएपछि छुवाछूत जस्तो अमानवीय कार्य कम हुने अपेक्षा रहेको महालक्ष्मी नगरपालिका–४ का हरिबहादुर दर्नालले बताउनु भयो ।
सरकारले देशलाई छुवाछूत मुक्त घोषणा गरेको भएपनि समाजमा अझै पनि छुवाछूत व्याप्त रहेको हुँदा सामूहिक भोजले छुवाछुत मुक्त बनाउन सहज हुने महालक्ष्मी नगरपालिका–४ का टेकबहादुर विश्वकर्माले बताउनु भयो ।
महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले आफ्नै कार्यकालमा नगर क्षेत्रभित्र छुवाछूत हटाउन सुरुआती काम गरेको बताउनु भयो । उहाँले राज्यले गरेको हरेक कानुन पालनाको लागि नगरपालिका सँधै अग्रणी रहेको बताउनु भयो ।
महालक्ष्मी नगरपालिका–४ का स्थानीय दीपक बुढाथोकीले नगरपालिकाबाट राम्रो कामको सुरुआत भएको बताउनु भयो । उहाँले छुवाछूत मुक्तको अभियानमा सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।