INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको सहयोगमा पार्वताको हातमा नागरिकता र लालपुर्जा

इन्सेकको सहयोगमा नागरिकता प्राप्त गरेकी धुर्कोट गाउँपालिका– ४ जैसीथोककी ३३ वर्षीया पार्वता पन्थीले चार महिनापछि फागुन २४ गते जग्गा धनी लालपुर्जा प्राप्त गर्नु भएको छ ।

अंशवण्डा मुद्दामा जिल्ला अदालतको फैसला अनुसार पति ममराज पन्थीबाट जग्गा पाएकी पार्वता नागरिकता नभएकै कारण लालपुर्जाबाट बञ्चित हुनु भएकी उहाँले भोगचलन गर्न पाउनु भएको थिएन ।

अदालतको फैसला अनुसार पति ममराज पन्थीको जग्गाबाट कित्ता नम्बर ११४२ काे एक रोपनी जग्गा पार्वताको नाममा कायम भएको मालपोत अधिकृत खेतबहादु खत्रीले जानकारी दिनुभयो ।

खेतबहादुर खत्रीले इन्सेक प्रतिनिधि टोपलाल अर्याल, दलित अधिकारकर्मी गणेश विश्वकर्मा र दलबहादुर विश्वकर्माको रोहवरमा जग्गा धनी लालपुर्जा पार्वतालाई प्रदान गर्नु भएको हो ।

photo2021031101gulmi

पार्वताले ढिलोचाँडो न्यायको महसुस भएको प्रतिक्रिया दिनुभयो । ‘मेरो र बच्चाको भविष्यका लागि नागरिकता दिलाउन पहल गर्ने सबै संस्था र व्यक्तिहरूलाई धन्यवाद छ । ’ पार्वताले भन्नु भयो ।

उहाँले फैसला बोकेर चार वर्षसम्म कयौ पटक सदरमुकाम र गाउँ गर्नुपरेको थियो । अदालतले नाता कायमसँगै अंशवण्डा र मानाचामलको फैसला गर्‍यो । तर, जिल्ला प्रशासन कार्यालयले नागरिकता दिएको थिएन ।

इन्सेक अनलाइनमा ०७७ साउन १३ गते नागरिकता नहुँदा आमाछोराको बिचल्ली, अदालतकै आदेश कार्यान्वयन भएन शिर्षकमा समाचार प्रकाशित भए पछि प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको ध्यानाकृष्ट भएको थियो ।

इन्सेक प्रतिनिधिको पहल पछि  पार्वताले ०७७ कात्तिक  २४ गते नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्नु भएको थियो ।

०६० सालमा पार्वता र स्थानीय ममराज पन्थीबिचको सम्बन्धबाट ०६१ वैशाख १ गते बच्चा जन्मियो । बच्चा जन्मिएपछि पन्थी भागेपछि पार्वता १२ वर्षसम्म एक्लै बस्नु भयो । पार्वताले ०७३ वैशाख ९ गते जिल्ला अदालतमा अंशवण्डा र माना चामल मुद्दा दर्ता गर्नु भयो ।

०७३ मङ्सिर १२ गते जिल्ला अदालत गुल्मीका न्यायाधीश मातृकाप्रसाद मरासेनीले पार्वता ममराजकै पत्नी र छोरा सरोज भएको फैसला गर्नु भयो । फैसलामा मासिक ३ हजार रुपियाँ खर्च भर्ने उल्लेख छ ।

ममराजले वेवास्ता गरे पछि अदालतले ममराज पन्थीबाट पार्वतालाई अंशवण्डाको अधिकारसहित खाना खर्च बापत एक रोपनी जग्गा उपलब्ध गराउने फैसला समेत गरेको थियो ।

नागरिकता नभएका कारण लालपुर्जा नपाएकी पार्वताले भोगचलन गर्न पाउनु भएको थिएन् ।

अन्य

भिडियो