INSEC Online

📅 २०८३ जेष्ठ २२

विद्यालयको छाना नहुँदा विद्यार्थीलाई सास्ती

बनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुई कोठे भवनको छाना हावाहुरीले उडाएको एक वर्ष पुग्नै लाग्दा समेत मर्मत नहुँदा विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन् ।

०७७ वैशाख २८ गतेको हावाहुरीले विद्यालयको छाना उडाएपछि विद्यालय मर्मत गरिदिन नगरपालिकालाई पटक पटक आग्रह गरेपनि बेवास्ता भइरहेको विद्यालयका प्रधानाध्यापक हेमराज वलीले बताउनुभयो । भवनको अभाव हुँदा विद्यार्र्थीलाई खुला चौर र छाना उडाएको भवनमै राखेर पढाउँदै आएको उहाँको भनाई छ ।

‘अव गर्मी समय सुरू भयो, दिनभी खुला चौर र छाना नभएको भवनमा राखेर पढाउन सकिँदैन । विद्यालय नजिकैको सडकबाट धुलो आएर कोठाभित्रै आउँछ । यसले बालबालिकाको स्वास्थ्यमा समेत असर पर्छ’  वलीले यथार्त सुनाउनुभयो ।

3 salyan 20210303

विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाई नभएको प्रअ वलीको गुनासो छ । निजी स्रोतका शिक्षकलाई तलव खुवाउन नसकेर कक्षा ८ बाट पाँचसम्म झार्ने योजना बनाइएको बताउँदै उहाँले भन्नुभयो ‘शिक्षकलाई तलव भत्ता खुवाउन नसकेको  विद्यालयले छाना फेर्ने स्रोत नै छैन ।’

हावाहुरीले छाना उडाए लगत्तै नगरपालिकामा जानकारी गराउँदा नगर उपप्रमुख मन्जु यरी, इन्जिनियर महेश देवकोटा सहितको टोलिले अनुगमन गरि करिब ८ लाखको क्षति भएको ठहर गरे पनि पुनर्निर्माणको लागि बजेटको व्यवस्थापन नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर बुढामगरले बताउनुभयो । विद्यार्थीको भविष्य जोडिएको विद्यालय जस्तो सम्वेदनशील क्षेत्र एक वर्षदेखि अलपत्र पर्नु निकै दुःखद् भएको बुढाको भनाई छ ।

बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र रावतले विद्यालय भवन मर्मतका लागि बजेट अभाव भएको  तर अन्य शिर्षकबाट मर्मत गर्ने तयारी भई रहेको जानकारी दिनुभयो ।

1 salyan 20210303

अन्य

भिडियो