लोहारपट्टी नपा–३ की २० वर्षीया विनादेवी सहनीलाई हत्या गरेको कसुरमा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका ५२ वर्षीय ससुरा शङ्कर सहनीलाई प्रहरीले महदैयाबाठ फागुन ६ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश बिष्टका अनुसार गिरफ्तार गरिएका सहनीलाई फागुन ६ गते नै अदालतमा पेस गरिएकोमा अदालतले कोरोना भाइरस चेकजाँच गरी ल्याउन भनिएपछि हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।
शङ्करले बुहारी विनादेवीलाई घरायसी विवादका कारण विष खुवाई घाँटी थिचेर हत्या गरेको कसुरमा अदालतले यस्तो फैसला सुनाएको थियो ।
प्रहरीका अनुसार २०६४ भदौ १३ गते ससुरा शङ्कर सहनी, सासू चन्दरदेवी सहनी, देवर राजकुमार सहनी, छिमेकी बली साह र शङ्कर साह मिलेर विनाको हत्या गरेको आरोप थियो ।
आरोपितमध्ये ससुरा शङ्कर सहनी, सासू चन्दर देवी र छिमेकी शङ्कर साहलाई २० वर्ष कैद र मृतकका देवर राजकुमारलाई १५ वर्ष कैद तथा ३० रुपियाँ जरिबाना तोकिएको छ ।
यसमध्ये छिमेकी बलीको मृत्यु भइसकेको र शङ्कर साहलाई गत माघ १८ गते गिरफ्तार गरिसकिएको प्रहरीले जनाएको छ ।
यो घट्नामा अदालतबाट कैद सुनाइएकामध्ये दुई जनालाई प्रहरीले गिरफ्तार गरेपनि अन्य भने अहिलेसम्म गिरफ्तार भएका छैनन् ।