बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभुत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका १ सय ३५ जनालाई बालबालिकालाई सहयोग उपलब्ध भएको छ । सहयोगको पहिलो चरणमा चामल लगायतको खाद्यान्न सामग्री, कपडा र स्टेशनरी उपलब्ध गराइएको छ ।

सहयोगी महिला जागरण मञ्च र हाम्रो सेवा समूहको तर्फबाट बेल्जियम, अष्ट्रेलिया, नेदरल्याण्ड, गोरखा र काठमाडौँमा रहेका सहयोगी दाताहरुबाट प्राप्त सहयोग सहयोगी महिला जागरण मञ्चको आयोजनामा फागुन ३ गते बालबालिकाका अभिभावकलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
चेपाङ बालबालिका अध्यायन गर्ने सो विद्यालय क्षेत्रमा बसोबास गर्ने चेपाङ समूदाय गरिबीको रेखामुनी रहेकोले निम्नस्तरको जीवन गुजार्न बाध्य छन् ।
जसका कारण यो जाडो मौसममा पनि पातलो लुगा लगाएर खाली खुट्टा विद्यालय आउने, केही विद्याथीहरू घरमा खानेकुरा अभावले भोकै विद्यालय जाने गरेका समाचार इन्सेक अनलाइनमा “भोकभोकै विद्यालय जान्छन् चेपाङ समुदायका बालबालिका” शिर्षकमा ०७७ पुस २९ गते समाचार प्रकाशन भएको थियो ।
इन्सेक अनलाइनमा विद्यालय जाने विद्यार्थीको अवस्थाबारे समाचार आएपछि केही गर्नु पर्छ भन्ने लागेर सहयोगी भावनाका दाताहरूको आर्थिक सहयोगमा बालबालिकालाई सहयोग उपलब्ध गराउन सकिएको मञ्चकी राधा श्रेष्ठले बताउनु भयो ।
काठमाडौँका बालचन्द्र श्रेष्ठ, रेश्मा बास्तोला, रुपा शाही बास्तोला, डाक्टर सावित्रि मल्ल कक्षपती, सरोज श्रेष्ठ, सुजिता अधिकारी, पञ्चशिला कक्षपती, ललितपुरका प्रमिला बाराही, गोरखाका बसुन्धरा जोशी, अष्ट्रेलिया निवासी शिशिर भण्डारी, धादिङका तुलसी थापालेसहयोग उपलब्ध गराउनु भएको सहयोगी महिला जागरण मञ्चकी राधा श्रेष्ठले बताउनुभयो ।
दाताहरूले आगमी वर्षमा पनि सो विद्यालयमा अध्ययनरत बालबालिकालाई निरन्तर सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेपछि विद्यालयले अब गरिब चेपाङ बालबालिकाले नियमित पढाइ गर्न सक्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले बताउनुभएको छ ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा बेनिघाटरोराङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टंकबहादुर थापाले वडाको तर्फबाट समेत गरीब बालबालिकाका लागि कार्यक्रम ल्याएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, हरीकृष्ण लभ्ली श्रेष्ठले बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ स्थित तिनकन्या आधारभुत विद्यालयका आठ जना बालबालिकालाई एक वर्षका लागि खाद्यान्न, कपडा र पढ्ने सामाग्री उपलब्ध गराउनु भएको छ । श्रेष्ठले सहयोग उपलब्ध गराएका बालबालिकामा १० वर्षीया रोसिका प्रजा, ४ वर्षीय सिर्जल प्रजा, ५ वर्षीय आक्रोसी प्रजा, ३ वर्षीया गंगा मगर, ३ वर्षीया जमुना मगर, ५ वर्षीय सानुकान्छा मगर, १० वर्षीय दावा मगर र ११ वर्षीय गीता मगर रहेका छन् ।
आमाबुबा गुमाएका तथा आर्थिक अवस्था कमजोर भई बालबालिका बिचल्लीमा परेको समाचार आएपछि नै श्रेष्ठले सहयोग गर्ने प्रतिवद्धता अनुसार सहयोग गर्नु भएको हो ।