INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २१ गते)

माघ २१ गते १ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ५ सय ९७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६७ हजार ६५ जना निको भएका छन् । माघ २१ गते २ सय ६ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २१ गतेसम्म २ हजार ३१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । २ हजार ३ सय ३५ जना सक्रिय सङ्क्रमित रहेकामा १  हजार ४ सय ५४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ६१ जनाको उपचार आइसीयूमा र १७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

गण्डकी प्रदेश

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बरेङ गाउँपालिकाका जनप्रतिनिधिलिाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि माघ २१ गते बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, बरेङ गाउँपालिका–१ स्थित धुल्लु लिउवा माध्यमिक विद्यालय र धुल्लु बाँस्कोट स्वास्थ्य चौकीलाई २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बरेङ गाउँपालिका अन्तर्गतका सबै कार्यालयका अत्यावश्यक बाहेकका सेवा माघ २६ गतेसम्म बन्द गर्ने र माघ २६ गतेसम्म गाउँपालिकाभर सभा, समारोह, सार्वजनिक सुनुवाइ, भेटघाट तथा पुजा पाठ स्थगित गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नरबहादुर बिकले जानकारी दिनुभयो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा कारागारका १ सय १६ जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । माघ २१ गते कारागारका १ सय ८ पुरुष र आठ जना महिला कैदीबन्दीलाई खोप लगाइएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो । जिल्ला कोभिड खोप समन्वय समितिको निर्णय अनुसार कारागारका कैदीबन्दीलाई खोप लगाइएको हो । पहिलो चरण अन्तर्गत कोभिड–१९ सङ्क्रमण रोकथाममा खटिएका अग्रपङ्क्तिका खटिएका १ हजार ५० जनालाई कोरोनाविरूद्धको खोप लगाइसकिएको छ ।

अन्य

भिडियो