क्षिरेश्वरनाथ नपा–७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक उदयपुर जिल्ला त्रियुगा नपा–७ चुओर निवासी ५१ वर्षीय प्रमोद रेग्मीको हत्या गरिएको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा पुस १६ गते उजुरी दर्ता गराएको छ ।
माघ १४ गते बिहान घरबाट आएका रेग्मीको शव रक्ताम्य अवस्थामा माघ १५ गते बिहान ९ बजे उद्योगको प्राङ्गणमा रहेको कोठाभित्र फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दिपक रायले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार रेग्मीको टाउकोमा ७ इन्च लामो र २ इन्च गहिरो चोट देखिएकाले हत्याको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो ।
शवलाई पोष्टमार्टमका लागि माघ १५ गते बेलुका सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
रेग्मीसहित चार जना मिलेर महेन्द्रनगरमा डिष्ट्रिलरी सञ्चालन गरेका थिए । रेग्मी डिष्ट्रिलरीका निर्देशकको रुपमा काम गर्दै आएको थिए । रेग्मीको हत्या भएको पीडितका आफन्त विनोद पाण्डेले दावी गरेका छन् ।