INSEC Online

📅 २०८३ जेष्ठ २१

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका पाँच जना व्यक्तिका परिवारलाई माघ १५ गते परिचय पत्र वितरण गरिएको छ । गुलरियामा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको पीडित पहिचान तथा परिचय पत्र वितरण कार्यक्रममा पीडितका परिवारलाई परिचय पत्र परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बितरण गर्नु भएको हो ।

द्वन्द्वको क्रममा बेपत्ता पारिएका बारबर्दिया नपा– ११ बेलभारका चैतेलाल थारूको नौ जना, सोही ठाउँका राजन चौधरीको दुई जना, हरिबहादुर चौधरीको दुई जना, सोही नपा– ९ का राजु वादीको एक जना र ज्ञाने वादीको सात जना गरी २१ जनालाई द्वन्द्व पीडित परिचय पत्र वितरण गरिएको हो ।

बेपत्ता आयोगले सुरू गरेको परिचय पत्र वितरणलाई सबै जिल्लामा सुरू गर्ने र परिचय पत्रको आधारमा पीडितलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने निति तथा योजना बनाएर अगाडि बढ्न सरकार तयार रहेको मन्त्री प्रदिप ज्ञवालीले बताउनु भयो । साथै पीडित परिवारले भोगिरहेका  कानुनी समस्या समाधानमा पनि परिचय पत्रले सहयोग पुग्ने गरी आयोगले गरेको सिफारिस अनुसार सरकारले निति बताउने मन्त्री ज्ञवालीले बताउनु भयो ।

सत्य थाहा पाउने पीडितको पहिलो अधिकारलाई सुनिश्चित गरेर मात्र मेलमिलाप र न्यायको प्रक्रियालाई छलफलमा अगाडि बढाउने कार्य गर्नु पर्ने र पीडितको चाहना र भावना अनुसार नेपालकै मौलिकतामा शान्ति प्रक्रिया टुङ्ग्याउने प्रक्रियामा अगाडि बढेको मन्त्री ज्ञवाली भनाइ रहेको थियो ।  यस सम्बन्धमा अन्र्तराष्ट्रिय सम्बन्धीत पक्षको सद्भाव र सहयोग स्वीकार गर्ने तर कुनै किसिमको हस्तक्षेप मान्य  नहुने पनि मन्त्री ज्ञवालीले बताउनु भयो ।

बर्दिया जिल्लामा सशस्त्र द्वन्द्वको क्रममा नेपालमै सबै भन्दा बढी व्यक्ति बेपत्ता परिएका छन् । शसस्त्र द्वन्द्वको क्रममा वेपत्ता व्यक्ति छानविन आयोगकोमा पीडित परिवारले दिएको उजुरी अनुसार नेपाल भरीबाट ३ हजार २ सय २० व्यक्तिलाई बल पूर्वक बेपत्ता पारिएको छ । आयोगमा परेका २ हजार ५ सय २९ जनाको उजुरीको अनुसन्धान भइरहेको छ । बर्दिया सशस्त्र द्वन्द्वको क्रममा सबै भन्दा बढी बलपुर्वक व्यक्ति बेपत्ता पारिएको जिल्ला हो । बर्दिया जिल्लामा २ सय ८८ उजुरी दर्ता भई २ सय ५५ को अनुसन्धान भएको छ भने ३३ जनाको अनुसन्धान हुन बाँकी रहेको छ ।

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष यूवराज सुवेदीले आयोगले पीडित र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरेरै काम गरिरहेको बताउँदै बेपत्ता पारिएका धेरै व्यक्तिको बारेमा छानविन अगाडि बढिसकेको बताउनु भयो । बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था पत्ता लगाई पीडित परिवारलाई जानकारी दिनुको साथै न्याय र परिपुरण कार्यक्रममा अगाडि बढाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुको बिकल्प नरहेको अध्यक्ष सुवेदीले बताउनु भयो ।

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष भागिराम चौधरीले पीडित जनतालाई सरकारले न्याय दिन पछि हट्नु नहुने बताउनु भयो । उहाँले पीडितलाई न्याय दिने विषयलाई राजनितिकरण गरिन नहुने  धारणा राख्नु भएको थियो । पीडितलाई पहिलो सरोकारवालाकोरुपमा लिएर सबै तहको छलफल गरी प्रक्रिया अगाडि बढाउन् आग्रह गर्नु भयो ।

अन्य

भिडियो