सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि महोत्तरी जिल्लाका गाविस तथा सदरमुकामको अवस्था भने त्यस्तो छैन ।
गाउँका स्वास्थ्य संस्थाहरूमा न औषधि पाइन्छ, न त सल्लाह दिने स्वास्थ्यकर्मी भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्थाहरू बेकामेजस्ता भएका छन् ।
सर्वसाधारणले रूघाखोकीजस्ता सामान्य समस्या लिएर सदरमुकाम वा अरू निजी संस्थामा नपुगी सेवा नपाउने अवस्था छ ।
औषधि हुँदा दिनहुँ बिरामीको भीड लाग्ने महोत्तरीका स्वास्थ्य संस्थामा अचेल चहलपहल देखिँदैन । कारण, औषधि छैन । ‘औषधि नपाइने भएपछि स्वास्थ्य संस्थामा किन जानु ?’- सर्वसाधारणको प्रश्न छ ।
भरतपुरस्थित स्वास्थ्यचौकीमा भेटिएका स्थानीय युवा रामकुमार विश्वकर्मा सामान्य औषधि नपाएको भन्दै निराश देखिन्थे । ‘त्यसै आएजस्तो भो !’-उनले भने-‘लुतोको औषधि लिन आएको थिएँ । छैन भन्ने जबाफ पाएँ ।’
सदरमुकामदेखि करिब ५० किमी दूरीमा रहेको भरतपुर स्वास्थ्यचौकीको प्रवेशद्वार मै निःशुल्क वितरण गरिने २८ प्रकारका औषधिको सूची छ । तर, सिनियर अहेव धर्मदेही चौधरीले सिटामोलसमेत उपलब्ध नभएको बताए ।
उनका अनुसार असार १५ मा जिल्ला स्वास्थ्य कार्यालयले सूची अनुसारकै २८ प्रकारको औषधि पठाएको थियो । त्यसपछि मङ्सिर १५ गते १३ प्रकारका मात्र औषधि प्राप्त भयो । ‘त्यो १३ प्रकार पनि मागको तुलनामा २५ प्रतिशत मात्र उपलब्ध गराए ।’-चौधरीले भने-‘अहिले हामीसँग न सिटामोल न आइरन चक्की, लुतोका लागि आवश्यक सामान्य दबाई पनि सकियो ।’
दैनिक सरदर ४० जना बिरामी आउने भरतपुर स्वास्थ्यचौकीमा औषधि अभावसँगै बिरामी सङ्ख्या पनि घट्दो छ । संस्थाको सम्पर्कमा रहेका ४० जना गर्भवती महिला आइरन चक्कीबाट समेत वञ्चित रहेको चौधरीले बताए ।
औषधि अभाव त छँदै छ, बिरामीले सल्लाह लिनुपर्दा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नै भेटिँदैनन् । संस्था खुले पनि उनीहरू नबस्ने गरेको स्थानीयको आरोप छ । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने ओपीडी सेवा दिनभर दिने भनिएको छ । तर, यहाँ भने डाक्टर, सिनियर अहेव, अहेव, स्टाफ नर्स, नर्स, अनमी पूरा समय बस्दैनन् ।
बैरगिया लक्ष्मीनिया, सुन्दरपुर, फुलकाहा, बसबिट्टी, सम्सी, हरिहरपुर हरिणमरी, रघुनाथपुर, बथनाहा, बगडा, सिङ्ग्याहीलगायत स्वास्थ्य चौकीमा मध्यान्हपछि स्वास्थ्यकर्मी नबस्ने गरेको स्थानीयले आरोप लगाएका छन् । ‘स्वास्थ्यचौकी खुल्लै हुन्छ । तर, कोही भेटिँदैनन् ।’-बैरगिया लक्ष्मीनियाकी समाजिक परिचालक आर्फी खातुनले भनिन्-‘दिउँसो २ बजे नै डाक्टर अस्पतालबाट हिँडेपछि सेवा पाउन सकिँदैन ।’
स्वास्थ्यकर्मीहरू दिउँसो २ बजेसम्म मात्रै सेवा दिएर बाँकी समय आफ्नै निजी क्लिनिक र अन्य संस्थामा काम गर्न पुग्ने गरेको रामगोपालपुरकी आरती यादवले आरोप लगाइन् ।
‘गाउँमै स्वास्थ्य सेवा प्राप्त हुन्छ भनेर आएको थिएँ । तर, जनकपुर जानैपर्ने भयो । गाउँमा स्वास्थ्य संस्था भएर के फाइदा?’ -लक्ष्मीनियाका छिरिङ दोर्जे लामाले भने । स्वास्थ्यचौकी अगाडि भेटिएका लामाका अनुसार स्वास्थ्यकर्मी नियमित रूपमा कार्यालय आउँदैनन् । आए पनि औषधि दिँदैनन् ।
जलेश्वर नपा-५ का ८३ वर्षीय मुक्तिनाथ मल्लिक जलेश्वर अस्पतालको औषधि बाँड्ने ठाउँमा उच्च रक्तचापको औषधिका लागि गुहारी रहेका थिए । आर्थिक रूपमा विपन्न रहेका उनले विगत केही महिनादेखि निजी पसलबाटै औषधि किन्नु परेको बताए ।
जलेश्वर अस्पतालमा पारा सिटामोल, एमोक्सिसिलिन, एण्टासिड, एम्लोडिपिन, कोट्रीमोक्साजोल र मेट्रोन ज्वरो, एण्टीवायोटिक, ग्यास, उच्च रक्तचाप र झाडापखालालगायतका अत्यावश्यक औषधिहरूको अभाव छ । सदरमुकाम मै रहेको जिल्ला अस्पताल र जिल्ला कै विभिन्न गाविस र नगरपालिकामा रहेका स्वास्थ्यचौकीहरूमा समेत औषधि अभाव भएकाले सेवाग्राही निजी क्लिनिकबाट महङ्गोमा औषधि किन्न बाध्य छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. मनीष पाण्डेका अनुसार औषधि अभाव जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा पनि उस्तै छ ।
औषधि अभावबारे डा. पाण्डे भन्छन्-‘वर्षको ४८ लाख रुपियाँ मात्र जिल्लाभरीकै लागि औषधि खरिद गर्न आउँछ । महोत्तरीको कूल जनसङ्ख्या ६ लाख भन्दा माथि रहेकोमा एकजना बिरामीको औषधि वापत ८ रुपियाँ समेत नपर्ने हुनाले बेलाबेलामा औषधि अभाव हुने गरेको छ ।’
हाल औषधि खरिदको लागि टेण्डर लागि सकेकोले केही दिनभित्रै जिल्ला अस्पताल र विभिन्न स्वास्थ्य चौकीहरूमा औषधि पुगिसक्ने डा. पाण्डेको कथन छ । तर, विगत केही वर्षदेखि औषधिको अभाव झेलिरहेका महोत्तरीबासी भने उनको आश्वासन प्रति विश्वस्त हुन सकेका छैनन् ।
महोत्तरी जिल्लामा दुई ओटा अस्पताल, ६६ ओटा स्वास्थ्य चौकी र पाँच ओटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । जिल्लामा १२ जना डाक्टरको दरबन्दी रहेकामा आठ जना कार्यरत छन् । हेल्थ असिस्टेन्ट ८१ जनाको दरबन्दी रहेकोमा सबै कार्यरत रहेका छन् भने स्त्री रोग विशेषज्ञको दरबन्दी नै छैन ।
अहेवको १ सय ८० ओटा दरबन्दी रहेकोमा सबै कार्यरत छन् । स्टाफ नर्स नौ ओटा दरबन्दी रहेकोमा दुई जना कार्यरत छन् । ल्याब असिन्टेण्ट सात जनाको दरबन्दीमा सबै कार्यरत, अनमी १ सय ७५ दरबन्दीमा १ सय ५० कार्यरत, एक्सरे असिस्टेन्ट/टेक्निसियन, परिवार नियोजन सुपरभाईजर, खोप सुरपरभाईजर, क्षयरोग, कुष्ठरोग सुपरभाईजर, एक-एक जनाको दरबन्दीमा रहेकोमा सबै कार्यरत रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयको वार्षिक वजेट २५ करोड ५० लाख ३१ हजार रुपियाँ र औषधि खर्चवापतको रकम ५१ लाख रुपियाँ छ । जसमा प्रशासनिक खर्च २४ करोड ९९ लाख ३१ हजार रुपियाँ रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।