विदेह नपा–२ दुहवी बस्ने जिवन राय अमातका पाँच वर्षीय छोरा अभिनन्दन राय अमातलाई सोही ठाउँकी २६ वर्षीया फुपू प्रमिलादेवी अमातले पुस १५ गते राति घाँटी थिचेर हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुस १७ गते पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
पुस १५ गते घरबाटै हराइरहेका बालकलाई खोजी गर्ने क्रममा पुस १६ गते साँझ ब्रह्मदेव राय अमातको भैंसीगोठमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।
बालक हराएको सूचना मृतकका बुबा जीवन राय अमातले पुस १५ गते साँझ नै प्रहरी चौकी दुहबीमा दिएका थिए ।
दुहबी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको संयुक्त टोलीले आरोपितलाई गिरफ्तार गरी पुस १७ गते सार्वजानिक गरेको हो ।
शवको पोष्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा पुस १७ गते गरिएको छ । शव परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।